रसुवा जिल्लामा ९ राजनीतिक दल र ३ स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी मनोनयन दर्ता

बलराम घिमिरे

रसुवा—आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रसुवा जिल्लामा ९ राजनीतिक दल र ३ स्वतन्त्र गरी जम्मा १२ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ९ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवार गरी १२ जनाको मनोनयन दर्ता भएको हो ।

उम्मेदवारहरू पार्टीका कार्यकर्ता तथा समर्थकसहित ¥याली गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मोहन आचार्यले तेस्रो पटक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आचार्य २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुई पटक निर्वाचित भइसकेका व्यक्ति हुन् । नेपाली कांग्रेसले यस अघि दुई पटक निर्वाचित भएकै उम्मेदवारलाई पुनः उम्मेदवार बनाएको छ ।

नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य प्रेमबहादुर तामाङले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । तामाङ २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुका साथै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका व्यक्ति हुन् । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट माधव लामिछानेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनी पहिलो पटक निर्वाचनमा होमिएका हुन् र पार्टीका केन्द्रीय सदस्य हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बसन्त भट्टले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जेएनजीको प्रतिनिधित्व गर्दै उनी पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट हरिप्रसाद घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । घिमिरे २०७९ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवार रहेका थिए ।

मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट विनोद थिङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट दाबा साङ्बो तामाङ, कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट होमप्रसाद आचार्य तथा उज्यालो नेपाल पार्टीका तर्फबाट मानबहादुर तामाङले उम्मेदवारी मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत सरिता रिजालले बताइन् । यसैगरी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रतर्फबाट सागर लामा, दावा मिङमर तामाङ र चित्रकुमारी देवकोटाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको