रसुवाका ११ जना महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा

रसुवा— नेपाली कांग्रेस रसुवाका ११ जना महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूले पार्टीको नियमित महाधिवेशनको पक्षमा रहने निर्णय गरेका छन् ।

महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक सुदृढता, आन्तरिक लोकतन्त्र तथा लोकतन्त्रको संरक्षणका लागि अहिलेको समयमा पार्टीको निर्णयविपरीत विशेष महाधिवेशनमा सहभागी नहुने निष्कर्षमा पुगेको जनाइएका छन् ।

पार्टीले तय गरेको नियमित महाधिवेशन सफल र सम्पन्न गराई पार्टीभित्र पूर्ण एकता स्थापना गर्न सबै नेता–कार्यकर्ता केन्द्रित हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै पार्टीभित्रको एकतालाई थप बलियो बनाउन नियमित महाधिवेशन नै उपयुक्त माध्यम भएको निष्कर्ष निकालिएको छ ।

महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूले पार्टीको निर्णयअनुसार अघि बढ्न सबैमा अपिल गर्दै लोकतन्त्रको संरक्षण र पार्टी सुदृढीकरणका लागि एकजुट हुन आग्रह गरेका छन् ।

विज्ञप्तिमा महासमिति सदस्यहरू लामाकार्पु तामाङ, उपेन्द्र लम्साल, राजु तितुङ, केदारप्रसाद देवकोटा (कुमार), मंगले तामाङ, सरला देवकोटा तथा महाधिवेशन प्रतिनिधिहरू शशी अधिकारी, लालुमाया तामाङ, सुनितामाया गुरुङ, निर्मला श्रेष्ठ र सिता तामाङको हस्ताक्षर रहेको छ ।

महाधिवेशन प्रतिनिधि उपेन्द्र लम्सालले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशनमा जानु पार्टी हितविपरीत हुने धारणा व्यक्त गर्नुभएको छ । “हामि नियमित महाधिवेशनको पक्षमा छौं, यही प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्छ,” लम्सालले भन्नु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको