सम्पादकीय

एक वर्षको यात्रा, अझ जिम्मेवार पत्रकारिताको प्रतिबद्धता

आज लाङटाङ पोस्टले आफ्नो प्रकाशन यात्राको पहिलो वर्ष पूरा गर्दैछ।

यो केवल एउटा सञ्चारमाध्यमको वार्षिकोत्सव होइन; रसुवा र आसपासका समुदायका आवाज, सवाल, सम्भावना र संघर्षलाई सार्वजनिक बहसमा ल्याउने हाम्रो एकवर्षे यात्राको एउटा महत्वपूर्ण दिन हो। सूचना र सञ्चारको तीव्र विकाससँगै पत्रकारिताको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ। सूचना पाउनु नागरिकको अधिकार हो भने सत्य, तथ्य र सन्तुलित सूचना सम्प्रेषण गर्नु सञ्चारमाध्यमको जिम्मेवारी हो।

यही जिम्मेवारीबोधका साथ लाङटाङ पोस्टले स्थानीय समाज, संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, विकास, विपद् तथा नागरिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै आएको छ। रसुवा प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली संस्कृति र पर्यटनको सम्भावनाले भरिएको जिल्ला हो। तर, सम्भावनासँगै यहाँका नागरिकले विकासको असमानता, रोजगारीको अभाव, पूर्वाधारको कमजोरी, प्राकृतिक विपद्, वातावरणीय चुनौती, भूमि तथा जीविकोपार्जनका सवाललगायत अनेकौँ समस्या पनि भोगिरहेका छन्। यस्ता विषयलाई केवल समाचारका रूपमा होइन, समुदायको वास्तविक आवाजका रूपमा उजागर गर्नु हाम्रो प्राथमिकता हो।

यस यात्रामा पाठक, स्थानीय समुदाय, पत्रकार, लेखक, नागरिक समाज, विज्ञ, जनप्रतिनिधि तथा शुभेच्छुकहरूको साथ र सुझाव हाम्रो महत्वपूर्ण आधार बनेको छ। पाठकको विश्वास र प्रतिक्रियाले अझ जिम्मेवार भएर अघि बढ्ने ऊर्जा दिएको छ।

आगामी दिनमा लाङटाङ पोस्टलाई अझ तथ्यपरक, खोजमूलक, समावेशी र उत्तरदायी सञ्चारमञ्चका रूपमा विकास गर्ने हाम्रो प्रतिबद्धता छ। स्थानीय मुद्दालाई राष्ट्रिय बहससँग जोड्ने, युवाको आवाजलाई स्थान दिने, महिला तथा सीमान्तकृत समुदायका सवाललाई प्राथमिकता दिने र रसुवाका सम्भावना तथा समस्यालाई तथ्यसहित प्रस्तुत गर्ने दिशामा हामी थप सक्रिय हुनेछौँ।

एक वर्षको यो यात्रामा हामीसँग जोडिनुभएका सम्पूर्ण पाठक, शुभेच्छुक, सहयोगी, पत्रकार तथा लेखकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। आगामी यात्रामा पनि तपाईंहरूको विश्वास, आलोचना र सुझावलाई हाम्रो मार्गदर्शनका रूपमा स्वीकार गर्नेछौँ।

लाङटाङ पोस्टको पहिलो वार्षिकोत्सवको अवसरमा सबैमा हार्दिक शुभकामना।

– सम्पादक

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको