रसुवा – स्व.माता टोपकुमारी र स्व.पिता तुलसीप्रसाद आचार्यको स्मृतिमा “टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार” स्थापना गरिएको छ।
उत्तरगया गाउँपालिका–५ बनुवाकी डा. सरस्वती आचार्यले आफ्ना अभिभावकको नाममा पुरस्कार स्थापना गरेकी हुन्। पुरस्कारको लागि बनेपास्थित शब्दयात्रा प्रकाशन सँग सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा डा. आचार्य र प्रकाशनको तर्फबाट डा.भास्कर हुमाागाइले हस्ताक्षर गरेका छन् । यो पुरस्कार रसुवा जिल्लाका उत्कृष्ट प्रतिभालाई समर्पण गरिनेछ ।
उत्कृष्ट प्रतिभालाई नगद २५ हजार रुपैयाँ, अभिनन्दनपत्र र शब्दयात्रा पट्ट प्रदान गरिनेछ । डा. सरस्वती आचार्यले पुरस्कारका लागि प्रकाशनलाई वार्षिक ३५ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् । शब्दयात्रा प्रकाशनका अनुसार यो पुरस्कार यसै वर्षदेखि वितरण थालिने छ। प्रारम्भिक चरणमा सम्झौताको अवधि ९ वर्ष रहेको छ ।
