रसुवा— नौकुण्ड गाउँपालिका–५ लामाचेमा रहेको एक कृषि फर्ममा लगाइएको गोलभेडा खेती लाङटाङ राष्ट्रिय निकुञ्जले फडानी गरेको छ ।
राजन्य कृषि तथा पशुपन्छी फर्मका प्रोप्राइटर चुडामणि पौडेलले आफ्नै निजी बारीमा लगाइएको गोलभेडा खेतीसमेत निकुञ्जले फडानी गरेको बताएका छन् । पूर्वसूचना नदिई खेती फडानी गरिएकाले आफू अन्यायमा परेको उनको गुनासो छ ।
“पाकेर फल बेच्नसमेत पाइएन,” उनले भने, “करिब ३ सय मिटर टनेल र फुल फुल्न लागेको करिब ६ हजार गोलभेडाका बोटमा क्षति पुगेको छ ।” सार्वजनिक जग्गामा परेको भए आफूले खाली गरिदिने भए पनि एक पटक मौका समेत नपाएको पौडेलको भनाइ छ । पौडेलले करिब तीन वर्षदेखि सो स्थानमा गोलभेडा खेती गर्दै आएको जानकारी दिए ।
यता, लाङटाङ राष्ट्रिय निकुञ्जले भने उक्त फर्मअन्तर्गतको केही जग्गा सार्वजनिक रहेको भन्दै कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार ३५ दिनको सूचना दिएर जग्गा खाली गराइएको हो ।
