रसुवा—आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले उमेदवार सिफारिस गरेको छ ।
मंगलबार कालिका गाउँपालिका–२ कालिकास्थानमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य इञ्जिनियर मोहन आचार्यलाई एकल नामसहित सिफारिस गर्ने निर्णय गरेको पार्टी सभापति पेम्बा छिरिङ तामाङले जानकारी दिए ।
कांग्रेस रसुवाका अनुसार लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता, विकासमा सक्रिय भूमिका र जनताप्रति उत्तरदायी नेतृत्व प्रदान गर्ने क्षमताका आधारमा आचार्यको नाम अघि सारिएको हो । यस्तै, समानुपातिक तर्फ पेम्बा छिरिङ तामाङ र सार्किबुटी तामाङको नाम सिफारिस गरिएको छ । साथै राष्ट्रिय सभातर्फ जनक जीवन उपाध्यायको नाम सिफारिस भएको जिल्ला कार्यसमिति रसुवाका सचिव उत्तम थापाले बताए ।
