हिमालय फोहोर पारेर शाङ्ग्रिला बेच्न सकिँदैन

कमल थापा, पीएचडी

वन्यजन्तु पारिस्थितिकीविद

नेपालको पर्यटन विकासबारे लामो समयदेखि बहस हुँदै आएको छ। पर्यटक भित्र्याउने, नयाँ गन्तव्य प्रवर्द्धन गर्ने, होटल विस्तार गर्ने र अन्तर्राष्ट्रिय प्रचार गर्ने प्रयास भइरहेका छन्। तर एउटा आधारभूत प्रश्न अझै स्पष्ट हुन बाँकी छ—विश्व पर्यटन बजारमा नेपालको सबैभन्दा मौलिक र अरू देशले सजिलै नक्कल गर्न नसक्ने पर्यटन ब्रान्ड के हो?

मेरो विचारमा यसको उत्तर स्पष्ट छ—विश्वको सर्वोच्च हिमालय। नेपालले अब सबै पर्यटन उत्पादनलाई एउटै स्तरमा प्रचार गर्ने होइन, आफ्नो अद्वितीय प्राकृतिक र सांस्कृतिक सम्पदालाई केन्द्रमा राखेर पर्यटन रणनीति निर्माण गर्नुपर्छ।

नेपालको पहिलो मुख्य पर्यटन उत्पादन : विश्वको सर्वोच्च हिमालय

नेपालको सबैभन्दा ठूलो पर्यटन शक्ति हिमालय हो। सगरमाथासहित ८,००० मिटरभन्दा अग्ला आठ हिमाल कुनै पनि देशसँग नेपालजस्तो संयोजनमा उपलब्ध छैनन्। यी हिमाल केवल आरोहणका गन्तव्य मात्र होइनन्; साहसिक पर्यटन, जैविक विविधता, हिमाली संस्कृति, स्थानीय जीवनशैली, अनुसन्धान र आध्यात्मिक अनुभवको अनुपम संगम हुन्।

त्यसैले नेपालको राष्ट्रिय पर्यटन ब्रान्डको पहिलो आधार ‘विश्वको सर्वोच्च हिमालय र उच्च हिमाली अनुभव’ हुनुपर्छ। यसलाई केवल हिमाल आरोहण वा पदयात्रामा सीमित नराखी हिमाली वन्यजन्तु, हिमाली संस्कृति, स्थानीय समुदाय, अनुसन्धान तथा प्रकृति शिक्षासँग जोडेर समग्र पर्यटन उत्पादनका रूपमा विकास गर्नुपर्छ। हिमचितुवा, नाउर, कस्तुरी मृग, हिमाली चराचुरुङ्गी र उच्च हिमाली जैविक विविधताले यसको आकर्षण अझ बढाउँछन्।

तर पर्यटन विकासको अर्थ हिमालमा अत्यधिक भीड, अव्यवस्थित पूर्वाधार र प्राकृतिक सम्पदाको दोहन होइन। यदि हिमालयलाई फोहोर, प्रदूषण र अनियन्त्रित निर्माणले ढाक्न थाल्यो भने हामीले बेच्न खोजेको पर्यटन उत्पादन आफैँ नष्ट हुनेछ। आज अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा “Himalayas are becoming a dumping site” वा “Goodbye Shangri-La” जस्ता टिप्पणीहरू सुनिनु गम्भीर चेतावनी हो। पर्यटनको आधार नै संरक्षण हो भन्ने सोच अब नीतिको केन्द्रमा आउनुपर्छ।

दोस्रो मुख्य पर्यटन उत्पादन : जंगली पदयात्रा (Trekking in the Wild)

हिमालयपछि नेपालको दोस्रो प्रमुख पर्यटन उत्पादन जंगली पदयात्रा बन्न सक्छ। नेपालको पदयात्रा केवल एउटा पदमार्गमा हिँड्ने गतिविधि होइन; यो हिमाल, जंगल, नदी, वन्यजन्तु, स्थानीय संस्कृति र जीवित समुदायसँग प्रत्यक्ष जोडिने अनुभव हो।

विश्वका धेरै देशमा ट्रेकिङ गर्न सकिन्छ, तर हिमालयको विशालता, जैविक विविधता र सांस्कृतिक गहिराइसँग जोडिएको नेपालको अनुभव अद्वितीय छ। त्यसैले हिमालय र जंगली पदयात्रालाई नेपालको core tourism products का रूपमा स्थापित गर्नुपर्छ।

त्यसपछि बाघ, गैँडा, हिमचितुवा, पक्षी अवलोकन, नदी पर्यटन, साहसिक खेल, धार्मिक तथा सांस्कृतिक पर्यटन, कृषि पर्यटन र होमस्टेहरूलाई पूरक (complementary) पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिन्छ। मुख्य उत्पादनले पर्यटकलाई नेपाल ल्याउँछ भने पूरक उत्पादनले बसाइ लम्ब्याउने, खर्च बढाउने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने काम गर्छ।

 

हिमालदेखि तराईसम्मको जैविक विविधता

नेपालको अर्को ठूलो शक्ति यसको उचाइगत र पारिस्थितिक विविधता हो। छोटो दूरीभित्र हिमालदेखि तराईसम्म पाइने जैविक विविधता विश्वमै दुर्लभ छ।

चितवन, बर्दिया, शुक्लाफाँटा र पर्साजस्ता संरक्षित क्षेत्रहरूले नेपाललाई उच्चस्तरीय वन्यजन्तु पर्यटनको गन्तव्य बनाउन सक्छन्। एकसिंगे गैँडा, पाटेबाघ, जंगली हात्ती, घडियाल, मगर गोही तथा सयौँ प्रजातिका चराचुरुङ्गी नेपालको विशिष्ट प्राकृतिक सम्पदा हुन्। वन्यजन्तु पर्यटनलाई केवल जंगल सफारीमा सीमित नराखी संरक्षण शिक्षा, अनुसन्धान, स्थानीय संस्कृति र सहअस्तित्वसँग जोड्नुपर्छ।

नेपाललाई विश्वस्तरीय birdwatching destination बनाउने सम्भावना पनि अत्यन्त ठूलो छ। हिमालदेखि तराईसम्मको उचाइगत विविधताले असाधारण चराचुरुङ्गी विविधता सम्भव बनाएको छ। यसलाई पर्यटनसँग जोड्दा कम लगानीमा स्थानीय समुदायका लागि दीर्घकालीन आम्दानी सिर्जना गर्न सकिन्छ।

नदी, संस्कृति र आध्यात्मिक सम्पदा

नेपालका नदीहरूले र्‍याफ्टिङ, कायाकिङ, क्यानोनिङ, नदी किनार पर्यटन तथा जलचर जैविक विविधतामा आधारित पर्यटनका अवसर प्रदान गर्छन्। तर नदी पर्यटन विकास गर्दा प्राकृतिक प्रवाह, जलाधार र जैविक विविधताको संरक्षण अनिवार्य हुनुपर्छ।

त्यसैगरी, भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको हिमवत्खण्डसँग जोडिएको आध्यात्मिक परम्परा तथा विविध सांस्कृतिक सम्पदालाई विश्व बजारमा शान्ति, दर्शन र सांस्कृतिक अनुभवका रूपमा प्रस्तुत गर्न सकिन्छ।

यसरी हेर्दा नेपालको पर्यटन उत्पादनलाई स्पष्ट प्राथमिकतामा वर्गीकरण गर्न सकिन्छ—पहिलो, विश्वको सर्वोच्च हिमालय; दोस्रो, जंगली पदयात्रा; त्यसपछि वन्यजन्तु, नदी, पक्षी, धार्मिक तथा सांस्कृतिक सम्पदा, कृषि पर्यटन र होमस्टेजस्ता पूरक उत्पादन।

पर्यटन : सुनको अण्डा पार्ने हाँस, तर आफ्नै गुँड फोहोर पार्न सक्ने उद्योग

पर्यटनलाई प्रायः ‘सुनको अण्डा पार्ने हाँस’सँग तुलना गरिन्छ। वास्तवमै यसले रोजगारी, विदेशी मुद्रा, स्थानीय उद्यम, पूर्वाधार विकास र आर्थिक अवसर सिर्जना गर्छ। तर उचित व्यवस्थापन नभए पर्यटनले आफ्नै आधार पनि नष्ट गर्न सक्छ।

अव्यवस्थित पर्यटनले हिमालयमा फोहोर र प्रदूषण बढाउन सक्छ, नदी र जलस्रोतमा दबाब सिर्जना गर्न सक्छ, वन्यजन्तुको बासस्थान खुम्च्याउन सक्छ र स्थानीय समुदायलाई आफ्नै भूमि तथा स्रोतबाट वञ्चित गर्न सक्छ। त्यति मात्र होइन, पर्यटनबाट प्राप्त आर्थिक लाभ सीमित व्यवसायी वा शहरी केन्द्रमा मात्र केन्द्रित भयो भने सामाजिक तथा आर्थिक असमानता झन् गहिरिन सक्छ।

पर्यटनको अत्यधिक व्यावसायीकरणले स्थानीय संस्कृति, परम्परागत ज्ञान र जीवनशैलीलाई पनि कमजोर बनाउन सक्छ। संस्कृति केवल पर्यटकलाई देखाउने ‘प्रदर्शन’मा सीमित भयो भने त्यसको मौलिकता हराउन थाल्छ। त्यसैले प्रकृति, संस्कृति र स्थानीय समुदायलाई पर्यटनको साधन होइन, पर्यटनको आधारभूत पूँजीका रूपमा संरक्षण गर्नुपर्छ।

यदि हिमालय फोहोरको थलो बन्दै गयो, नदीहरू प्रदूषित भए, वन्यजन्तुको बासस्थान नष्ट भयो र स्थानीय संस्कृति कमजोर बन्दै गयो भने “Himalayas are becoming a dumping site” वा “Goodbye Shangri-La” जस्ता टिप्पणी केवल आलोचना मात्र रहने छैनन्; ती नेपालको पर्यटनको वास्तविक चित्र बन्न सक्छन्। त्यसैले नेपालको पर्यटन नीति high-volume tourism होइन, high-value, low-impact and community-centred tourism तर्फ उन्मुख हुनुपर्छ।

पर्यटनको आम्दानी महत्त्वपूर्ण छ, तर सधैँ सुनिश्चित हुँदैन

पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार हो, तर यसलाई स्थायी र सुनिश्चित आयस्रोत ठान्नु यथार्थपरक हुँदैन। COVID-19 महामारीले केही महिनामै विश्व पर्यटन उद्योग ठप्प हुन सक्छ भन्ने प्रमाणित गरिसकेको छ। त्यसैगरी युद्ध, राजनीतिक अस्थिरता, प्राकृतिक विपद्, आर्थिक मन्दी र जलवायु परिवर्तनले पनि पर्यटनमा प्रत्यक्ष असर पार्न सक्छ।

त्यसैले नेपालको आर्थिक रणनीतिले पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्यसँगै यसको जोखिमलाई पनि ध्यान दिनुपर्छ। कृषि, वनमा आधारित उद्यम, जलविद्युत्, सूचना प्रविधि, उत्पादनमूलक उद्योग र स्थानीय उद्यमशीलतालाई समानान्तर रूपमा सुदृढ बनाउँदै पर्यटनबाट प्राप्त आम्दानीलाई दीर्घकालीन उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति आवश्यक छ। यही आर्थिक लचिलोपन (economic resilience) दिगो समृद्धिको आधार बन्न सक्छ।

लाभको न्यायपूर्ण वितरण : स्थानीय समुदाय पर्यटनको केन्द्रमा

दिगो पर्यटनको सफलताको प्रमुख आधार लाभको न्यायपूर्ण वितरण हो। पर्यटनबाट सिर्जित आम्दानी सीमित व्यवसायी वा शहरी केन्द्रमा मात्र केन्द्रित भयो भने स्थानीय समुदायमा संरक्षणप्रतिको अपनत्व कमजोर हुन्छ।

विशेषगरी पर्यटन गन्तव्यमा बसोबास गर्ने स्थानीय तथा आदिवासी जनजाति समुदाय पर्यटनका साझेदार हुनुपर्छ। होमस्टे, स्थानीय उद्यम, कृषि, हस्तकला, स्थानीय खाद्य संस्कृति, प्रकृति मार्गदर्शन र सांस्कृतिक सेवामार्फत उनीहरूलाई प्रत्यक्ष आर्थिक अवसर उपलब्ध गराउनुपर्छ।

त्यति मात्र होइन, स्थानीय समुदायले आफ्नो भूमि, संस्कृति, प्राकृतिक स्रोत र पर्यटनसम्बन्धी निर्णय प्रक्रियामा पनि अर्थपूर्ण सहभागिता पाउनुपर्छ। संरक्षण गर्ने समुदायसम्म पर्यटनको लाभ न्यायपूर्ण रूपमा पुगे मात्र पर्यटन दीर्घकालीन रूपमा टिकाउ बन्न सक्छ।

सरकार, निजी क्षेत्र र समुदायको साझा जिम्मेवारी

सरकारको भूमिका केवल पर्यटकको संख्या बढाउनेमा सीमित हुनु हुँदैन। राष्ट्रिय तहमा स्पष्ट पर्यटन ब्रान्ड निर्धारण, दीर्घकालीन योजना, अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, संरक्षण नीति र गुणस्तर मापदण्ड विकासमा सरकारले नेतृत्व लिनुपर्छ।

निजी क्षेत्रले गुणस्तरीय सेवा, नवप्रवर्तन र जिम्मेवार लगानीमार्फत पर्यटनलाई प्रतिस्पर्धी बनाउनुपर्छ भने स्थानीय सरकार र समुदायले गन्तव्य व्यवस्थापन, सरसफाइ, संस्कृति संरक्षण र लाभको न्यायपूर्ण वितरण सुनिश्चित गर्नुपर्छ।

यससँगै नेपालको पर्यटन उद्योगले आतिथ्य सत्कार, खाद्य स्वच्छता, सरसफाइ, सुरक्षा, भाषिक क्षमता र पर्यटकमैत्री व्यवहारमा उल्लेखनीय सुधार गर्न आवश्यक छ। पर्यटक ल्याउनु मात्र पर्याप्त हुँदैन; उनीहरूलाई सुरक्षित, सम्मानजनक र उच्च गुणस्तरको अनुभव दिन सक्नुपर्छ।

अब संख्या होइन, गुणस्तरमा प्रतिस्पर्धा

नेपालको पर्यटन विकासको लक्ष्य केवल धेरै पर्यटक भित्र्याउनु हुनु हुँदैन। बरु कम संख्यामा भए पनि बढी खर्च गर्ने, लामो समय बस्ने, स्थानीय अर्थतन्त्रमा योगदान गर्ने तथा प्रकृति र संस्कृतिको सम्मान गर्ने पर्यटक आकर्षित गर्नु दीर्घकालीन रूपमा बढी लाभदायक हुन्छ।

त्यसैले अब “कति पर्यटक आए?” भन्दा पनि “कस्तो पर्यटक आए?”, “कति समय बसे?”, “स्थानीय अर्थतन्त्रमा कति योगदान गरे?”, “प्रकृति र संस्कृतिमा कस्तो प्रभाव पर्‍यो?” र “स्थानीय समुदायले कति लाभ पाए?” भन्ने प्रश्नहरू पर्यटन मूल्याङ्कनका मुख्य सूचक बन्नुपर्छ।

निष्कर्ष : नेपालको पर्यटनको मूल शक्ति चिनौँ

नेपालले अब ‘सबै कुरा बेच्ने’ रणनीति होइन, आफ्नो सबैभन्दा अद्वितीय पर्यटन शक्ति पहिचान गर्ने रणनीति अपनाउनुपर्छ। सगरमाथासहित विश्वका ८,००० मिटरभन्दा अग्ला हिमाल, हिमालयको जंगली पदयात्रा, हिमचितुवादेखि तराईका बाघ र गैँडासम्मको वन्यजन्तु विविधता, हिमालदेखि तराईसम्म फैलिएको जैविक विविधता, बुद्धको जन्मभूमि, जीवित संस्कृति र नदी सभ्यताको यस्तो संयोजन विश्वमा विरलै पाइन्छ। यही नेपालको मौलिक प्रतिस्पर्धात्मक शक्ति हो।

त्यसैले नेपालको पहिलो पर्यटन ब्रान्ड विश्वको सर्वोच्च हिमालय हुनुपर्छ। दोस्रो प्रमुख उत्पादन जंगली पदयात्रा हुनुपर्छ। त्यसपछि वन्यजन्तु, पक्षी अवलोकन, नदी पर्यटन, धार्मिक तथा आध्यात्मिक सम्पदा, संस्कृति, कृषि पर्यटन र होमस्टेलाई मुख्य उत्पादनसँग रणनीतिक रूपमा जोड्नुपर्छ।

यससँगै पर्यटनको गुणस्तर सुधार, उच्च मूल्यका पर्यटक आकर्षित गर्ने नीति, स्थानीय समुदायमा लाभको न्यायपूर्ण वितरण र प्रकृति तथा संस्कृतिको संरक्षणलाई समान प्राथमिकता दिन आवश्यक छ। पर्यटनबाट प्राप्त आम्दानीलाई दीर्घकालीन आर्थिक लचिलोपन निर्माणमा लगानी गर्न पनि उत्तिकै महत्त्वपूर्ण छ।

हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन—हिमालयलाई फोहोरको थलो बनाएर शाङ्ग्रिला बेच्न सकिँदैन। प्रकृति नष्ट गरेर प्रकृति पर्यटन गर्न सकिँदैन, संस्कृति कमजोर बनाएर सांस्कृतिक पर्यटन टिकाउन सकिँदैन, र स्थानीय समुदायलाई बेवास्ता गरेर दिगो पर्यटन सम्भव हुँदैन।

यदि नेपालले आफ्नो मुख्य पर्यटन उत्पादन स्पष्ट पहिचान गरी संरक्षण, गुणस्तर, स्थानीय सहभागिता र उच्च मूल्य–कम प्रभाव (high-value, low-impact) पर्यटनको मार्ग अवलम्बन गर्न सक्यो भने नेपालले विश्व पर्यटन बजारमा आफ्नै विशिष्ट पहिचान स्थापित गर्न सक्छ। नेपालको भविष्य धेरै पर्यटक ल्याउनुमा होइन; विश्वमा अरू कतै नपाइने मौलिक अनुभव प्रदान गर्ने, त्यसलाई संरक्षण गर्ने र त्यसबाट स्थानीय समुदायलाई न्यायपूर्ण लाभ दिलाउने दिगो पर्यटन मोडल निर्माण गर्नुमा छ।

डा. कमल थापा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा विद्यावारिधि (PhD) गर्नुभएको छ। उहाँ विगत तीन दशकभन्दा बढी समयदेखि वन, वातावरण तथा वन्यजन्तुसम्बन्धी अध्ययन, अनुसन्धान, संरक्षण र व्यवस्थापनका क्षेत्रमा सक्रिय रूपमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको