डा. निर्मला पोखरेल
‘अप्प दीपो भवः’ अर्थात् आफ्नो प्रकाश आफैं बन भन्ने सन्दर्भमा केन्द्रित भएर लाङटाङ सद्भावना दूत, पर्यटन प्रशिक्षक, स्वतन्त्र पत्रकार तथा डकुमेन्ट्री निर्देशक अशोक सिलवालज्यूले कलम चलाउनु भएको छ । बहुप्रतिभाका धनी उहाँको यो चौथो पुस्तक हो । यसअघि लेखिएका कलम, लेखक दुनिया र श्रीलंका स्मृति नामक पुस्तकहरू पनि रोचक रहेका छन् भने यस पुस्तकपछि लेखिएको ‘एभरेस्ट: एन अनफिनिस्ड स्टोरी’को हालै आयोजित काठमाडौँ डिस्कोर्स पनि रोचक र आकर्षक थियो ।
‘अप्प दीपो भवः’ २०८२ सालमा प्रकाशित भएको हो । १३६ पृष्ठको यस पुस्तकमा १३ शीर्षक समेटिएका छन् । मोहनी ल्हासासँग, बोलाई डोल्माले, पासपोर्ट, सीमानामा देश दुख्यो, सीसँग सेल्फी, हाइलाइ फुटबल, मानसरोवरमा मनमोहिनी, आँखा रसिला, ओठमा मुस्कान, लीला, अद्भुत, चुम्बन, किम्बदन्ती, सागा, ह्वेयर आई लस्ट माई स्टिक र अप्प दीपो भवः ।
यो यात्रा स्मरणकथाभन्दा बढी यथार्थपरक देखिन्छ । रोमाञ्चक कैलाश–मानसरोवर यात्रा वृत्तान्त समेटिएको ‘अप्प दीपो भवः’ मा १३ दिने यात्राक्रममा देखेका, भोगेका र महसुस गरेका कुराहरूलाई आकर्षक, सन्तुलित, निश्छल र स्वतन्त्र रूपमा समेटिएको छ । ४४ विदेशी र १२ नेपाली गरी जम्मा ५६ जनाको यस समूहमा पटक–पटक यात्रा गरेका र पहिलोपटक जाने यात्रुहरूको मिश्रण थियो ।
यात्राक्रममा लेखकले भनेका छन्, ‘मेरो यो यात्रा संस्कृति, जीवन र प्रकृतिको यात्रा थियो ।’ वास्तवमा उनले यी तीनै पक्षको न्यायोचित वर्णन गरेका छन् । संस्कृति अन्तर्गत धेरै पक्ष समेट्ने क्रममा उनले मानव शव जलाउने वा गाड्ने साटो चरालाई खुवाउने दृश्य, कैलाश यात्राका लागि प्रस्थान गर्ने हिन्दू, बौद्ध, जैन र बोन–पो सबै धर्मावलम्बीहरू उत्सुकता र कौतुहलताका साथ त्यहाँ पुगेको तथा सबैले शैव धर्मका देवी–देवताको आभास पाएको वर्णन गरेका छन् । कसैले कैलाशको भित्तामा पार्वती देखेको, कसैले शिव, कसैले गणेश, कसैले गणेशको वाहन मुसा, कुमारको वाहन मयूर, त्रिशूल, डमरु र शिवलिङ देखेको अनुभूति व्यक्त गरेका छन् । कैलाशसम्बन्धी विभिन्न किम्बदन्तीहरूको बयान पनि यसमा समेटिएको छ ।
कैलाशको वर्णन गर्ने क्रममा विभिन्न यात्रुहरूले गरेका अनुभूतिलाई जस्ताको तस्तै लिपिबद्ध गर्दै उनी लेख्छन्, ‘कैलाश प्रकृतिको अद्भुत सृजना हो, शिव–शक्तिको स्वरूप हो । ऊँ पर्वत हो, शिरबाट हिउँ बग्दा ऊँ देखिन्छ । स्वर्गको सिँढी, ज्ञान र शक्तिको केन्द्र तथा जीवन्त पर्वत–विश्वस्तम्भ हो । यसका चारै दिशा फरक–फरक मणिमाणिक्यबाट बनेका छन् । यो देवता र दानव दुवैको आस्थाको केन्द्र र महातीर्थ हो ।’ यस्ता सांस्कृतिक र खोजमूलक वर्णनहरू पुस्तकभरि देखिन्छन् ।
मानव जीवनसम्बन्धी विविध तथ्यहरू, भन्न मिल्ने–नमिल्ने कुरा, रुचि र सोचका विषयहरूलाई यहाँ सुन्दर ढंगले प्रस्तुत गरिएको छ । डोल्माला क्षेत्रमा भेटिएका दुई चिनियाँ सुन्दरीमध्ये एउटीसँग आँखाको भाषा मिलेपछि आँखैभित्र बस्ने अनुभूति, मुस्कान साटासाट, हिउँले हानाहान गर्दै अँगालोमा बेरिएको क्षण, वा चीनको एक विश्वविद्यालयका विभागीय प्रमुख प्रोफेसरसँगको आत्मीय सम्बन्ध— यी सबै प्रसंगहरू स्वाभाविक रूपमा आएका छन् । मानव जीवनमा आउने यस्ता अनेकौँ भावना विभिन्न पात्रमार्फत प्रस्तुत गरिएको छ।
यात्राक्रमका प्राकृतिक छटासँगका साक्षात्कारलाई सरल र सुन्दर ढंगले चित्रण गरिएको छ । १५ केजीको भारी ब्याग बोकेर हिँड्दा बाटामा देखिएका पशुपंक्षी, हिमाल र पहाडसँग रमाउँदै गरिएको यात्राको बयान प्रभावशाली छ । भँगेराभन्दा ठूला चराहरूले हातको हत्केलामा राखेर दिएको दालमोटको टुक्रा खाँदा खुशीले आँसु झरेको प्रसंग भावुक रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै, यात्रुका हातमा आइपुगेका अन्य चराहरू, भारी बोकेका फूर्तिला यात्रुहरू, पहेँला फूल, बाटो वरिपरि झ्याप्प परेका अग्ला रुखहरू, मुसा आकृतिका खरायोजस्ता पशुहरूको वर्णन पनि अत्यन्त जीवन्त छ ।
सिलवालज्यूले यात्राअवधिमा घटेका घटनाहरूलाई सकेसम्म समेट्ने प्रयास गरेका छन् । पासपोर्ट हराएर परेको आपत, पुनः भेटिँदा भएको खुशी, वर्षौँ प्रयोग गरेको लौरो छोड्नुपरेको क्षण, चिनियाँ राष्ट्रपति सी जिनपिङको फोटोसँग सेल्फी खिचेको प्रसंग, नेपाल–चीन सीमामा उभिएर दुवै देशको अवस्था तुलना गर्दा आफ्नै देशको अवस्था ठीक विपरीत देखेर मन दुखेको अनुभूति— यी सबै कुरा सशक्त रूपमा प्रस्तुत भएका छन् ।
यस कृतिमा लेखकको बौद्धिकता, देशप्रेम र खोजमूलक सोच स्पष्ट झल्किन्छ । उनी लेख्छन्, ‘मानव प्लस सरोवर बराबर मनको तलाउ ।’ पौराणिक कथनअनुसार मानसरोवर ब्रह्माको मनबाट उत्पत्ति भएको, सतीदेवीको दायाँ हात यहाँ पतन भएको, देवता र दानव दुवैको तपोस्थल रहेको, पूर्वतर्फ देउताल र पश्चिमतर्फ राक्षसताल रहेको उल्लेख गर्दै उनले कैलाशसम्बन्धी विविध किम्बदन्तीहरूको चर्चा गरेका छन् । लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविता स्मरण गर्दै लेखिएको प्रसंगले उनको ज्ञानको फराकिलो पक्ष देखाउँछ । देश फर्किएपछि खुशी हुँदै उनी लेख्छन्, ‘तिब्बत राम्रो, नेपाल झनै राम्रो ।’
अन्त्यमा उनले आफूमाथि नै गरेको अनुसन्धानमा आफूमा भएका विकारहरु हटाउनका लागि आफू भित्रबाटै नसके बाहिरी प्रयासले सम्भव नहुने तथ्य पत्ता लगाउँछन् र आफ्नो पिउने र तान्ने बानी कैलाशलाई साक्षी राखेर छोइने संकल्प लिएर कैलाश पुगेको तर फर्किएर आउँदा त्यो सफल नभएको कारणले उनी लेख्छन्, ‘अप्प दीपो भवः अर्थात् आफ्नो प्रकाश आफै बन ।’
