रसुवा — भदौ १० गते आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र फसेका आफ्ना जेठा छोरा समिर लामिछानेसहितका कामदारहरूको स्थिति अझै अज्ञात रहँदा उनका पिता माधव लामिछानेले गहिरो हृदयविदारक भावुक पीडा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत लामिछानेले सुरुङभित्र अक्सिजनको अभावमा तड्पिएर हुनुपरेको मृत्युको कल्पना गर्दै हृदयविदारक भावुक पीडा व्यक्त गरेका हुन् । हालै चिलिमे सुरूङमा भेटिएका शवहरूको अवस्था नबिग्रिएको सन्दर्भ जोड्दै उनले सुरुङभित्र रहेकाहरूको मृत्यु केही दिनअघि मात्र भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
“बाबु! तिमीहरू चाहिँ सुरुङमा नहुनु ल। सुरुङमा हुनेहरूको मृत्यु कति पीडादायी भयो होला! चिलिमेमा अहिलेसम्म शव नबिग्रिएको देख्दा मृत्यु भर्खरै (एक-दुई दिनअघि मात्र) भएको जस्तो लाग्छ,” उनले भावुक हुँदै लेखेका छन्, “अक्सिजनको अभावमा त्यसरी तड्पिएर मर्नुभन्दा त बाढीमा सिधै परेको भए बरु यति धेरै यातना हुँदैनथ्यो होला।” आयोजनामा विगत ६ वर्षदेखि इलेक्ट्रिकल इन्जिनियरका रूपमा कार्यरत समिर सुरुङभित्रै बेपत्ता छन् ।
सरकार र सम्बन्धित निकायको सुस्त उद्धार कार्यप्रति कडा असन्तुष्टि जनाउँदै लामिछानेले राज्यको लापरबाहीका कारण आफूहरूले यो नियति भोग्नुपरेको आरोप लगाएका छन्। घटनाको सुरुवाती चरणदेखि नै सम्पूर्ण सुरुङ क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञ उद्धारकर्ताहरू तत्काल परिचालन गरिएको भए आफ्ना छोरासहित अन्य कामदारहरूलाई जीवितै वा समयमै उद्धार गर्न सकिने उनको दाबी छ।
