स्वास्थ्य स्वयंसेविका सँग सँगै आयआर्जनका लागि बाख्रापालन गर्दै कुलकुमारी न्यौपाने

बलराम घिमिरे

रसुवा– कालिका गाउँपालिका–३ की ५७ वर्षीय कुलकुमारी न्यौपानेले करिब ३७ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको काम गर्दै आउनुभएको छ ।

उहाँले २०४५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा सेवा सुरु गर्नुभएको हो । विगत ३७ वर्षदेखि न्यौपानेले निरन्तर गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्‍याउँदै आउनुभएको छ । टोल–टोलमा पुगेर विवाह २० वर्ष पार गरेपछि मात्र गर्नुपर्छ, गर्भवती भएपछि गर्भ जाँच गराउनुपर्छ र सुत्केरी हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने सन्देश दिँदै आउनुभएको छ । त्यसैगरी नवजात शिशु तथा गर्भवतीको जानकारी लिने, खोप लगाउन परामर्श दिने लगायतका काम उहाँको दैनिकीजस्तै हुन्छ ।

समुदायमा प्रत्येक महिना आमा समूहको बैठक राखेर सरसफाइ, पौष्टिक आहार, स्थायी तथा अस्थायी बन्ध्याकरणलगायतका विषयमा छलफल समेत चलाउँदै आउनुभएको छ । हिजोआज टेलिफोनमार्फत पनि सेवा दिने गरेको उहाँले सुनाउनुभयो । सुरु–सुरुमा घर–घरमा पुग्दा धेरैपटक परामर्श सेवा दिनुपर्ने अवस्थाको अनुभव पनि उहाँले सुनाउनुभयो । गाह्रो–अप्ठ्यारो परेको बेला समुदायले सुरुमा सम्झने पात्र उहाँ नै हुनुहुन्छ । यातायातको साधन नहुँदा आफ्नो टोलका बिरामी र धेरै गर्भवती महिलालाई बोकेर स्वास्थ्य चौकी पुर्‍याउनुभएको कथा पनि उहाँले सुनाउनुभयो । समुदायका महिलाले आफू गर्भवती भएको कुरा आफन्तलाई भन्दा पहिला आफूलाई सुनाउने गरेको स्वयंसेविका न्यौपानेले बताउनुभयो । उहाँ गाउँमा स्वास्थ्य स्वयंसेविका हुँदासम्म कसैले दुःख पाउनुपर्ने छैन भन्ने गाउँबासीको भनाइ छ ।

नवजात शिशु बिरामी हुने समस्या देखिए जोखिम हुनसक्ने भन्दै अस्पताल जानुपर्ने सल्लाह दिने गरेको उहाँले जानकारी दिनुभयो । महिला स्वास्थ्य स्वयंसेविका समुदायमा ‘मिनी डाक्टर’ का रूपमा चिनिँदै आएका छन् । समुदायमा निरन्तर सेवा गरिरहे पनि राज्यको आँखामा पर्न नसकेको स्वास्थ्य स्वयंसेविकाहरूको भनाइ रहेको छ । यस्तै समुदायमा बसेर सेवा गरेबापत स्वयंसेविकाहरूले थोरै प्रोत्साहन भत्ता बाहेक अरू केही नपाउँदै आएको छ । तर उनीहरूले समुदायमा निरन्तर सेवा गरिरहेका छन् । पर्यटन विकास तथा सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो लाङटाङ ९०।३ मेगाहर्जको ११औँ वार्षिक साधारण सभामा यस वर्ष “योगमाया अधिकारी ईश्वरी स्मृति महिला स्वयंसेविका पुरस्कार”बाट स्वयंसेविका कुलकुमारी न्यौपाने नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानित हुनु भएको छ ।

सरकारबाट पाउने भत्ताले सामान्य खर्च मात्र धान्ने गरेको कुलकुमारी न्यौपानेले बताउनुभयो । स्वास्थ्य स्वयंसेविकाको कामसँगै आम्दानीका लागि उहाँले बाख्रापालन सुरु गर्नुभएको छ । “घर खर्च चलाउनका लागि बाख्रा पालन गरेको छु,” उहाँले भन्नुभयो । खसी–बोका बेचेर वार्षिक २ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको पनि उहाँले सुनाउनुभयो । कालिका गाउँपालिकाका ५ वटा वडामा ५३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नवराज न्यौपानेले बताए । उनका अनुसार गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक भत्ता बापत १ हजार रुपैयाँ दिँदै आएको छ ।

त्यसैगरी रसुवा जिल्लाका २७ वटा वडामा २ सय ४५ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । संघ सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक १ हजार रुपैयाँ भत्ता दिँदै आएको छ भने प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत सञ्चार खर्चसहित वार्षिक एकमुष्ट ६ हजार रकम उपलब्ध गराउँदै आएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यले बताए । ६० वर्ष उमेर पुगेर अवकाश हुने स्वयंसेविकालाई जीवनयापनमा टेवा मिल्ने उद्देश्यले सरकारले एकमुष्ट २० हजार रुपैयाँ दिने गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको