रसुवा- रसुवामा आएको बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली-१ (२१६ मेगावाट) जलविद्युत् आयोजनाका कर्मचारी तथा उनीहरूका परिवारका लागि निर्माण तथा ठेकेदार कम्पनी दुसानले उद्धार, खोजी र राहत वितरणको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।
कम्पनीले विभिन्न सरकारी निकायहरूसँगको समन्वयमा प्रभावित पक्षलाई हरसम्भव सहयोग पुर्याउँदै आएको छ । बाढी प्रभावितहरूको खोजीका लागि भदौ १५ गतेदेखि हालसम्म करिब १९ पटक हेलिकप्टरको प्रयोग गरिएको छ भने चितवनसम्मको तल्लो तटीय क्षेत्रमा दैनिक रूपमा ड्रोनमार्फत खोजी तथा उत्खनन कार्य जारी राखिएको छ ।

बेपत्ता तथा प्रभावित परिवारका सदस्यहरूलाई घटनास्थलसम्म पुग्न सहज बनाउन कम्पनीले बसोबास र हेलिकप्टरको निःशुल्क व्यवस्था मिलाएको छ । नेपाली सेना र कोरियाली राजदूतावासको सहकार्यमा यो प्रबन्ध गरिएको हो । यसका साथै, पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न भदौ ११ गते आपत्कालीन राहत कोष स्थापना गरी प्रत्येक पीडित परिवारलाई १ लाख रुपैयाँका दरले तत्कालकाे लागि राहत उपलब्ध गराइएको छ । परिवारजनको सहायताका लागि भदौ २१ गते फ्यामिली असिस्टेन्स सेन्टर स्थापना गरी पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहँदै कम्पनीका योजना र सहयोगबारे जानकारी दिने काम पनि भइरहेको छ ।
आर्थिक रूपमा कमजोर परिवारलाई विशेष प्राथमिकतामा राखेर घरमै पुगी बीमा रकम तथा सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने रकमका विषयमा जानकारी दिने र आवश्यक कानुनी परामर्शसहित सहजीकरण गर्ने काम गरिराखेकाे छ। खोजी तथा उत्खनन कार्यमा थप सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारलाई १५ वटा बबक्याट उपकरणहरू समेत हस्तान्तरण गरिएको छ ।

कम्पनीमा कार्यरत कोरियाली र नेपाली गरी कुल ८६ जना कर्मचारीमध्ये हाल ४४ जना सकुशल रहेका छन् भने ३ जनाको दुःखद निधन भएको छ। बाँकी ३९ जना अझै सम्पर्कविहीन रहेको र उनीहरूको खोजी कार्य जारी रहेको कम्पनीले जनाएको छ ।
संकटको यस घडीमा दुसान इनर्बिलिटीले सुरक्षा निकाय र सरकारी सरोकारवालाहरूसँग हातेमालो गर्दै पीडित परिवारको पक्षमा जिम्मेवारपूर्ण ढङ्गले काम गरिरहेको प्रष्ट पारेको छ।
