काठमाडौं— लेखक तथा यात्री अशोक सिलवालको ‘अप्प दीपो भवः यात्रा’ पशुपतिनाथ मन्दिरबाट सुरु भएको छ ।
गौतम बुद्धको सूत्रवाक्य “आफ्नो प्रकाश आफै बन” लाई आत्मसात् गर्दै सुरु गरिएको यो यात्रा बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुगेर समापन हुनेछ ।
हिमालयदेखि मधेशसम्म फैलिने यस यात्राका क्रममा स्थानीय विद्यालय, स्थानीय तह, धार्मिक तथा आध्यात्मिक केन्द्र, सामाजिक संघ–संस्था तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग भेटघाट, संवाद र अन्तरक्रिया गरिनेछ । यात्राले चेतना, सद्भाव र सहअस्तित्वको सन्देश बोकेको लेखक सिलवालले बताए ।
यात्राकै क्रममा सिलवालले आफ्नो पुस्तक ‘अप्प दीपो भवः’ को दोस्रो संस्करण मायादेवी मन्दिरमा सार्वजनिक गर्ने कार्यक्रमसमेत रहेको छ । यसअघि पुस्तकको पहिलो संस्करण तिब्बतको ल्हासास्थित विश्वप्रसिद्ध पोताला दरबारमा सार्वजनिक गरिएको थियो ।
लाङटाङ सद्भावनादूतसमेत रहेका लेखक सिलवालका ‘अप्प दीपो भवः’ बाहेक यात्राका अनुभव समेटिएको ‘श्रीलंका स्मृति’ तथा संसारशिर सगरमाथा केन्द्रित ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ लगायतका कृतिहरू प्रकाशित छन् ।
