अशोक सिलवालको ‘एभरेस्ट’माथि काठमाडौंमा डिस्कोर्स

रसुवा— लेखक अशोक सिलवालको कृति ‘एभरेस्ट’माथि केन्द्रित डिस्कोर्स काठमाडौंमा सम्पन्न भएको छ । शब्द, हिमाल र जीवनलाई जोडेर गरिएको डिस्कोर्स नयाँ स्वाद र शैलीको रहेको सहभागीहरूले बताएका छन् ।

थापागाउँस्थित कुञ्ज थिएटरमा लेखनकुञ्जद्वारा आयोजित कार्यक्रममा विश्लेषक डम्बर खतिवडाले डिस्कोर्सको उद्घाटन गर्दै लेखकको लेखन यात्राबारे चर्चा गरे । खतिवडाले सिलवाललाई ‘एभरेस्ट’का लेखकका रूपमा उभ्याएसँगै कार्यक्रम पुस्तक केन्द्रित विमर्शतर्फ अघि बढेको थियो ।

डिस्कोर्समा मालिशा शर्मालगायतले पुस्तकबारे विदेशी पाठकका समीक्षा वाचन गरेका थिए भने जेन–जी सभ्यता नेपालले पाठक प्रतिक्रिया प्रस्तुत गरेकी थिइन् । संस्कृतिविद् डा. निर्मला पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्दिरा न्यौपाने, शकुन्तला देवकोटा, मनोज केसी, कमल ढकाल र शेखर खरेलले पुस्तकका विविध आयाममाथि  विमर्श गरेका थिए ।

यसअघि ‘एन अनफिनिस्ड स्टोरी’ उपशीर्षकसहितको सिलवालकृत ‘एभरेस्ट’ ८ हजार मिटरभन्दा अग्ला तीन हिमशिखर— धौलागिरी, अन्नपूर्ण र मनास्लुलाई पृष्ठभूमि बनाएर माछापुच्छ्रेको काखमा रहेको अन्तर्राष्ट्रिय पर्वत संग्रहालय, पोखरामा विमोचन गरिएको थियो । सो पुस्तक त्यसअघि लाङटाङ क्षेत्रको करिब ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जीङमा सार्वजनिक गरिएको थियो ।

“किताब संसारशिर सगरमाथामाथि आधारित भए पनि यो भुइँतिरको यात्रा हो— भावना र भूगोलको,” लाङटाङ सद्भावना दूतसमेत रहेका लेखक सिलवालले बताए ।

‘एभरेस्ट’ अशोक सिलवालको पाँचौँ कृति हो । डकुमेन्ट्री निर्देशकसमेत रहेका नेपाल गाइड सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’, ‘श्रीलंका स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश पुस्तक ‘अप्प दीपो भवः’ प्रकाशित भइसकेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको