रसुवा— रसुवा र नुवाकोटको सिमाना बेत्रावतीमा बिहीबार ११ हल गोरु जुधाइ प्रतियोगिता सञ्चालन हुने भएको छ ।
हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुँदै आएको गोरु जुधाइ मेला यस वर्ष पनि निरन्तरता दिन लागिएको हो । नाम दर्ताको अन्तिम दिनसम्म ११ हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको स्थानीय गणेश श्रेष्ठले जानकारी दिनु भयो ।
गोरु जुधाइ अवलोकन गर्न आउने दर्शकका लागि पार्किङ स्थल, शौचालय तथा पिउने पानीको व्यवस्था गरिएको छ । साथै सस्तो मूल्यमा खाजा तथा खानाका लागि स्टलको समेत व्यवस्था गरिएको उहाँले बताउनु भयो ।
नेपाल र तिब्बतबीच १८४९ साल असोज १७ गते सम्पन्न बेत्रावती सन्धिको खुसीयालीमा मनाइँदै आएको गोरु जुधाइ मेलाले ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । मेला अवलोकन गर्न रसुवासहित नुवाकोट, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरलगायतका जिल्लाबाट हजारौँ दर्शक सहभागी हुने गरेका छन् ।
कृषिमा आधुनिकीकरणसँगै हाते ट्याक्टरको प्रयोग बढ्दै जाँदा गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको कारण प्रतियोगिता सञ्चालनमा चुनौती देखिन थालेको क्लबले जनाएको छ ।
प्रतियोगितामा सहभागी गोरुका धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन तथा प्रतिस्पर्धामा सहभागी गोरुको बीमा समेत गरिएको आयोजकले जनाएको छ ।
