रसुवा — पर्यटकीय क्षेत्र क्याङजिङ गुम्बामा तामाङ समुदायको भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि विशेष प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोगमा सुरु भएको यस प्रशिक्षणमा स्थानीय युवाहरूलाई मनी गाउने, मनी नाच नाच्ने तथा लामाहरूले पूजाआजामा प्रयोग गर्ने परम्परागत ‘स्याल्से तोरमा’ बनाउने सीप सिकाइँदै छ ।

संस्कार, परम्परा र पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको गोसाइँकुण्ड गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष डिन्डुप तामाङले जानकारी दिनु भयाे ।
“हाम्रो परम्परागत पूजापाठ र चाडपर्वमा बनाइने तोरमा बनाउने विधि र मनी नाच युवा पुस्तालाई सिकाउनु आजको आवश्यकता हो,” वडाध्यक्ष तामाङले भन्नु भयो ।
यस प्रशिक्षण कार्यक्रममा मनी गाउन र नाच्नका लागि गुरु पेनबा छिरिङ दोर्जे लामा तथा तोरमा निर्माणका लागि ओम्जे तेन्जिन लामाले प्रशिक्षण दिनु भएकाे छ ।
आफ्नो सांस्कृतिक परम्परा बचाउन र आधुनिक समयका चुनौतीहरूसँग सामञ्जस्य कायम गर्न यो तालिम निकै उपयोगी हुने सहभागी तेम्पा तामाङको भनाइ छ।
क्यान्जिङ र लाङटाङ दुवै क्षेत्रलाई समेटेर सञ्चालन गरिने यो प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्नेछ।
