रसुवा— चीनसँगको अन्तर्राष्ट्रिय नाका जोड्ने छोटो दूरीको स्याफ्रुबेसी–रसुवागढी सडकको अवस्था अत्यन्तै दयनीय बनेको छ ।
लगातारको पहिरो, बाक्लो हिलो र जताततै परेका खाल्डाखुल्टीका कारण यस खण्डमा यात्रा ज्यादै जोखिमपूर्ण बनेको छ । स्याफ्रुबेसी–रसुवागढी सडक अन्तर्गत कलाङकुलुङ, टिमुरे र मेदाङपुदुङ क्षेत्रमा सडक हिलाम्मे तथा कतिपय स्थानमा पहिरो जाने गरेका कारण सवारी आवागमन प्रभावित भएको हो ।
विशेषगरी बर्खाको समयमा सडक हिलाम्मे हुँदा सवारी साधनहरू बीच बाटोमै फस्ने गरेका छन् । हिलोमा गाडी अड्किँदा यात्रु तथा मालवाहक सवारीहरू घण्टौँसम्म जाममा पर्नु पर्ने बाध्यता छ । चीनबाट सामान बोकेर आउने कन्टेनर, विद्युतीय सवारीसाधन तथा मानसरोवर जाने–आउने तीर्थयात्रीका सवारीसमेत जाममा पर्ने गरेका छन् । चीन सरकारको सहयोगमा सडक स्तरोन्नतिको काम भइरहेका बेला लगातारको वर्षाले सडक हिलाम्मे बनेपछि समस्या थपिएको चालकहरूले बताएका छन् ।
दैनिक सयौँ कन्टेनर तथा अन्य सवारीसाधन सञ्चालन हुने अन्तर्राष्ट्रिय नाका जोड्ने यस सडकमा यातायात प्रभावित हुँदा यात्रु तथा पर्यटकलाई समयमै गन्तव्यमा पुग्न कठिनाइ भएको छ। सडकको अवस्थाका कारण पर्यटकहरू समेत चिन्तित भएका छन् । चीनबाट आयात गरिएका सामान बोकेका कन्टेनर र यात्रुवाहक बसहरू बीच बाटोमै अलपत्र पर्ने क्रम बढेपछि सडकको अवस्था सुधार गरी नियमित यातायात सञ्चालनका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने यात्रु तथा चालकहरूले बताएका छन्।
