भाङ्गे झर्नामा आन्तरिक पर्यटकको भीड

बलराम घिमिरे
रसुवा — जिल्लाको उत्तरगया गाउँपालिका–२, डाँडागाउँमा रहेको भाङ्गे झर्नामा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ।

केही वर्षअघिसम्म भाङ्गे झर्नाको खासै चर्चा थिएन। तर सामाजिक सञ्जालमा भाइरल भएपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा तीव्र वृद्धि भएको हो। तलबाट माथि हेर्दा झर्ना बलिउड चलचित्र बहुबली को दृश्य जस्तै देखिने भएकाले यसलाई कतिपयले “बहुबली झर्ना” पनि भन्छन्।

झर्नाको सुन्दरता हेर्न दैनिक मानिस आउने गर्छन्। तर विशेषगरी बिदाको दिन यहाँको भीड सम्हाल्नै नसक्ने खालको हुन्छ। नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, चितवन, गोरखा, मकवानपुरलगायत जिल्लाबाट पर्यटक यहाँ आउने गरेका छन्।

विशेष गरी युवा–युवतीहरू पौडी खेल्न, झर्नामा नुहाउन, टिकटक बनाउन, फोटो र भिडियो खिच्न व्यस्त देखिन्छन्।

यो झर्ना बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडकखण्ड नजिकै पर्छ। बेत्रावती बजारबाट करिब ५ किलोमिटर उत्तरमा झर्ना अवस्थित छ।

बिदाको दिन पर्यटकको चाप बढेपछि उत्तरगया गाउँपालिका–२, डाँडागाउँका साधुराम सापकोटाले आफ्नै घरमा होमस्टे सञ्चालन गरेका छन्। “बिदाको दिन त खाना पकाउनै भ्याइँदैन, रात बिताउने पर्यटक पनि आउने गर्छन्,” सापकोटाले बताए।

भाङ्गे झर्नाको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास गर्न बजेट छुट्याइएको उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले जानकारी दिइन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको