विश्वास नेपाली
पत्रकार मित्र बलराम घिमिरेले नयाँ थालनी गरेका छन्, त्यो हो लाङटाङ पोष्ट डटकम । यो एउटा सुखद् समाचार हो । अहिलेको सूचना, सञ्चार र प्रविधिको यो विकसित युगमा पनि हामी रसुवाबासीले हाम्रा गाउँ÷घरका सूचना र समाचार थाहा पाउनको लागि कठिनाई भोग्नु परिरहेको छ । केही सामाजिक सञ्जालमा हालिने जानकारी पहुँचमा हुनेले मात्रै थाहा पाउछन् । त्योबाहेक नियमितरूपमा सूचना, समाचार, विचारहरू हामीले अध्ययन गर्न पाइरहेका छैनौँ । यही तिर्खा मेटाउनको लागि अनुभवी पत्रकार बलराम घिमिरेले जुन प्रयत्न गर्नुभयो, यो प्रशसनीय कार्य हो । यस अवसरमा लाङटाङ पोष्ट डटकम टिमलाई धेरै धन्यवाद् ज्ञापन गर्दछु । यो अनलाइन रसुवाली जनताको सूचनाको साथी बन्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।
यस अवसरमा रसुवा जिल्ला, यहाँ भूगोल, विकासको अवस्था र सञ्चार महत्वको विषयका केही हरफहरू आलेखमार्फत प्रस्तुत गरेको छु ।
•••
रसुवा जिल्ला अहिले पनि हिमाली अनि दुर्गम जिल्लाकै रूपमा चित्रित हुन्छ । यहाँको भूगोल, पर्याप्त पूर्वाधारको विकास नभएको, विकास र प्रविधिको लागि केन्द्रीय सरकारको प्रभाव कम परेको हुँदा यसलाई मानिसहरू दुर्गम नै भन्न बाध्य छन् ।
अहिले पनि विकास र बजेटको बाँडफाँडको धेरै हिस्सा सङ्घीय सरकारबाट नै हुन्छ । सङ्घीय सरकारबाट आउने अनुदान बजेटबाट नै स्थानीय सरकारहरू चल्नुपर्ने बाध्यतामा छन् । खासमा भन्ने हो भने जिल्लामा रहेका ५ वटै स्थानीय तहको आफ्नै नियमित आम्दानीको स्रोहरू छैनन्, जुन जिल्लाको विकासमा खर्च गर्न सकियोस् । विगतमा बजेटले खचाखच हुने जिल्ला विकास समिति (हाल समन्वय समिति) को गतिविधि शून्यप्राय छ । जनप्रतिनिधिहरू त छन्, तर बजेट छैन, जनताले विकासको आशा राख्छन्, गर्न केही सकिँदैन जिल्ला समन्वय समितिमा निर्वाचित प्रतिनिधिहरूको आफ्नै पीडा छ ।
इतिहास अध्ययन गर्दा पहिले रसुवा, धादिङ र नुवाकोट एउटै जिल्लाअन्तर्गत थियो, जसलाई पाँचसय खोला भनिन्थ्यो । पछि राम्चेभन्दा माथि र पारिपट्टिका डाडाँगाउँपारिका खोला, किम्ताङ, खनियाँबास र छाप पञ्चायत रसुवामा राखियो । राम्चेभन्दा धैबुङ, लहरेपौवालगायत तल नुवाकोटअन्तर्गत पर्दथ्यो । वि.सं. २०३० मा वर्तमान रसुवाको भूगोल बनेको हो । उतिबेला रसुवामा ६ वटा मात्र गाउँ पञ्चायतहरू थिए । पछि १४ हुँदै १८ गाविस भयो । अहिले ५ गाउँपालिकामा भूगोल विभाजित छ ।
राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदनअनुसार जिल्लामा कुल ११,१४० परिवार छन् । कुल जनसङ्ख्या ४६,६८९ रहेका छन् । जसमा २२,६५४ (४८.५%) महिला र २४,०३५ (५१.५%) पुरुष छन् । औषत परिवार सङ्ख्या ४.१९ रहेको छ । जिल्लाको कुल साक्षरता दर ६९.६% रहेको छ । यस जिल्लामा बसोबास गर्ने मुख्य जाति तामाङ हुन् । तामाङबाहेक यहाँ शेर्पा, घले, ब्राम्हण, क्षेत्री, गुरूङ, मगर, नेवार, राइ सुनुवार र दलित जातिका मानिसहरू बसोबास गर्दछन् । मुख्य बोलिने भाषाहरू तामाङ र नेपाली हुन् । यस बाहेक तिब्बतीयन, शेर्पा र नेवारी भाषा पनि बोल्दछन् ।
अहिले बजेटहरू पनि पालिका–पालिकामै सङ्घीय सरकारबाट आउँछ । जनताहरूले प्रत्येक वडामा ५ जना जनप्रतिनिधिहरूलाई निर्वाचित गर्छन् । पालिका तहमा जनप्रतिनिधिहरू पनि निर्वाचित हुन्छन् । तैपनि जनअपेक्षाअनुसारको विकास र समृद्वि हुन सकीरहेको छैन । बनेका सडक सञ्जालहरूको प्रभावकारी परिचालन हुन सकिरहेको छैन । खानेपानी, सिँचाइ, स्वास्थ्य सेवाहरू प्रभावकारी हुन सकिरहेको छैन । किसानका वग्रेल्ती समस्याहरू छन् । बिर्ता, गुठीको समस्या उस्तै छ । भूकम्पपछि विस्थापित भएकाहरू अहिले पनि अस्थायी टहरोमै छन् । शिक्षामा तात्विक भिन्नता देखिने गरी प्रगतिहरू देखिन सकेको छैन । बेरोजागरीको सङ्ख्या पनि उत्तिकै छ । रसुवाबाट बाहिरीने युवाहरूको सङ्ख्या पनि धेरै नै छ ।
स्थानीय सरकार आएपछि गाउँगाउँसम्म सडक सञ्जाल जोडिने प्रयत्नहरू भने भएको देखिन्छ । तर, कच्ची र कमजोर भूगोलमा बनेका सडकहरूको कारण जनताहरूले सधै सेवा लिन पाइराखेका छैनन् । कृषि पेशाबाट मात्रै जनजीविका चल्न नसक्ने अवस्थाहरू सिर्जना हुँदैछन् ।
वि.सं. २०२१ भन्दा पहिले सदरमुकाम स्याफ्रुमा थियो । वि.स. २०२२ को जिल्ला सभा पहिलो पटक धुन्चेमा भएको थियो । विकासको हिसावले हेर्दा पनि जिल्लाको लामो इतिहास त देखिँदैन । विकासको लागि प्रखर र केन्द्रीय पहुँच भएकै नेता चाहिने रहेछ, पूराना अनि पाका नेताहरू भन्छन्, जहाँ नेता बलिया छन्, त्यहाँ त विकास भएकै छन्, उदाहरणको लागि छिमेकी जिल्ला नुवाकोटलाई नै हेर्न सक्छौँ ।
हामीसँग सम्पदा र स्रोतहरू नभएका होइनन् । हामीसँग दर्जनौँ जलविद्युत् कम्पनीहरू छन् । यहाँको खोला–पानीले वर्षैनी अर्बाै रूपियाँ कमाइ गरिरहेका छन् । तर, ती बाहिरीरहेका छन् । भन्ने नै हो भने जिल्लाबासीले त्यहाँ राम्रोसँग रोजगारी पनि पाउन सकिरहेका छैनन् । त्यहाँबाट हुने आम्दानीको केही हिस्सा जिल्लाको विकासमा खर्च गर्न सकिने आधार खडा गर्न सकिराखिएको छैन । यसको लागि पैरवी पहल गर्ने नेतृत्व हामीसँग छैन । त्यसको अभाव महशुस गरिराखेका छन्, जिल्लाबासीले ।
ऐतिहासिक एवं व्यापरिक दृष्टिकोणले महत्व पाएको रसुवागढी–केरुङ नाका पनि हामीसँग छ । धार्मिक एवं पर्यटकीय हिसावले महत्वपूर्ण र प्रसिद्वि पाएको गोसाइँकुण्ड हामीसँग छ । पर्यटकीय गन्तव्यको हिसावले तेस्रो स्थानमा सूचीकृत लाङटाङ हिमाल, जुन मनोरम स्थल पनि हो, हामीसँगै छ । तैपनि हामीले अपेक्षाकृत विकास देख्न सकिरहेका छैनौँ । पर्यापर्यटनको लागि आवश्यक पर्ने पूर्वाधारहरू हामीसँग छैन । सडक पूर्वाधारहरू बलियो बनाउन सकेका छैनौँ । पर्यटकहरूलाई पर्याप्त सुरक्षाको अनुभूतिहरू दिलाउन सकिरहेका छैनौँ । यी सम्पदाहरू भएको ठाउँमा केही दिनसम्म बस्ने र अडिने वातावरण हामीले बनाउन सकिरहेका छैनौँ ।
जिल्लाको लाइफलाइन सडक पासाङल्यामू सडक मार्ग बलियो र प्रभावकारी छैन । ठाउँ ठाउँमा विग्रीएर दुःख दिइरहेकै छ । पछिल्लो पटक गत असार २४ गते अप्रत्यासितरूपमा आएको बाढीको कारण रसुवाको भन्सार, जलविद्युत् कम्पनी, सरकारी भवनहरू, सडकलगायतको ठूलो भौतिक क्षति हुन पुगेको थियो । जुन अहिलेसम्म पनि पुनर्निर्माण हुन सकीरहेको छैन । यो बाढी चीनको भूगोल हुँदै आएको थियो, जसको पूर्वानुमान र पूर्वसूचना नहुँदा ठूलो क्षति व्यहोर्नु प¥यो । साथै रसुवा–चीन जोड्ने मितेरी पुलसमेत बगाएको र हालसम्म पनि बन्न नसक्दा आवात जावात मात्रै रोकिएको छैन, अर्बाैको लगानी गरेका नेपालीहरूले डुवानको सामाना गरिराख्नु परेको छ । व्यापारीहरूको अलप–विलप छ । लगानी डुबेको छ । काम गर्ने वातावरण पुनर्निर्माण हुन सकिरहेको छैन । उनीहरूको गुनासो छ, सरकारले यस कार्यमा ध्यान दिएन । जिल्लाको जनप्रतिनिधि र नेतृत्वहरूले यस कार्यमा आवश्यक पहल लिइदिन सक्रियता देखाएनन् । त्यसो हुँदा केन्द्रीय सरकारको चासो कम प¥यो । हुन त यो अन्तर्राष्ट्रिय नाका हो । त्रिदेशीय व्यापारिक महत्वको दृष्ट्रिकोणले हेरिएको थियो । तैपनि यत्तिका दिन वितिसक्दा पनि यहाँ बाढीले पु¥याएको क्षतिको पुनर्निर्माण हुन सकिरहेको छैन । यो दुःखद् पक्ष हो ।
जिल्लाको अर्काे समस्या अहिलेसम्म पनि हामी राजनीतिक रूपमा पनि रसुवा केन्द्रीय पहुँचबाट टाढा
छ । केन्द्रीय तहमै प्रभाव पार्न सक्ने नेतृत्व रसुवाले जन्माउन नसकेको राजनीतिज्ञहरू नै स्वीकार्छन् । पञ्चायतकालमा दावा फिन्जो तामाङ राष्ट्रिय पञ्चायत उपाध्यक्षसमेत हुन सफल भए । उनकै पालामा जिल्लामा सडक विस्तार भयो । अहिलेको पासाङल्यामू सडक उनकै पालामा खनिएको हो, जस्ताखानी भएको गणेश हिमालसम्म ।
पञ्चायत कालमै रामकृष्ण आचार्य मन्त्रीसम्म हुन सफल हुनुभयो । उहाँपछि सांसद् नियमित प्रक्रियाबाट हुने बाहेक रसुवाले केन्द्रीय राजनीतिमा खास पहुँच राख्न सकेको छैन । मन्त्री, प्रधानमन्त्री, राजदूत, नियोग तथा आयोगमा नेतृत्व तहमा रसुवाली जनता–नेताको पहुँच पहुँच पुग्न सकेको छैन । प्रभाव जमाउन सकेका छैनन् । त्यसहिसावले राजनीतिमा पनि क्रमशः निरासाहरू छाउँदै गएको देखिन्छ ।
हामीकहाँ प्रभावकारी सञ्चारको सेवा विस्तार हुन सकेको छैन । यी विषयहरू मिडियामा आउन सकेका छैनन । मिडियाको पर्याप्त विकास र विस्तार हुन नसक्दा जिल्लाको जनसरोकारका विषयहरू मूलधारमा बहसमा आउथे होलान् । यहाँको जनताको समस्याका विषयहरू राष्ट्रिय विषयवस्तु बन्न सक्ने होलान् । एकाध सामुदायिक रेडियोहरू छन्, उनीहरूलाई पनि राम्रोसँग चल्न समस्या भइरहेको छ । पहिले थिए, अहिले पत्रपत्रिकारहरू पनि प्रकाशन बन्द छ । अनलाइन सञ्चार माध्यमहरू पनि जिल्लाकै विषयवस्तुहरूलाई बाहिर ल्याउने गरी समर्पित रुपमा विकास र विस्तार हुन सकीरहेका छैनन ।
यसैले विकास र समृद्धिको लागि यी पक्षको विकास र विस्तारमा पनि जिल्लाबासीको चासो र चिन्ता हुनुपर्ने हो । यहाँका शिक्षाविद्, अधिकारकर्मी, राजनीतिकर्मी, राष्ट्रसेवक सबैको चासोको विषय हुनुपर्ने हो । आशा गर्न सक्छौँ, अव भविष्यमा यी विषयमा सबैको ध्यान जानेछ ।
