सम्पादकीय

नयाँ यात्राको थालनी : सुदृढ लोकतन्त्र र सुसूचित जनता हाम्रो प्रतिबद्धता

हामी लाङटाङ पोष्ट डटकम लिएर तपाईंहरू माझ आएका छौँ। यो हाम्रो नयाँ यात्राको थालनी हो।
हाम्रो प्रतिबद्धता सूचना, समाचार, विचार र बहसमार्फत सिर्जित ज्ञानलाई जनतासम्म पु¥याउने, जनताको बलिदानीबाट प्राप्त लोकतन्त्रको रक्षा गर्ने र थप सुदृढीकरणमा योगदान गर्ने हो। साथै, जनतालाई समाज र राज्यका हरेक पक्षबारे सुसूचित हुन पाउने अधिकार सुनिश्चित गर्न निरन्तर खबरदारी गर्नु पनि हाम्रो दायित्व हुनेछ।

आज संविधान दिवस।
हाम्रा पुर्खा र अग्रजहरूको त्याग, बलिदान र समर्पणबाट निर्मित संविधानले सम्पूर्ण नेपाली जनताको आकांक्षालाई सम्बोधन गरेको छ। समावेशी लोकतन्त्र र गणतन्त्र नै यस संविधानको मूल मर्म हो। लामो संघर्ष र पर्खाइपछि, आजभन्दा एक दशकअघि २०७२ साल असोज ३ गते, नेपाली जनताले ऐतिहासिक संविधान प्राप्त गरेका थिए।

यही महत्वपूर्ण दिनलाई अवसर मानी लाङटाङ पोष्ट डटकम को सुरुवात गरेका छौँ। नयाँ दिन, नयाँ परिवेश र नयाँ सङ्कल्पसहित सत्य, तथ्य र निष्पक्ष सूचना तथा विचार जनतासम्म पु¥याउने हाम्रो मूल उद्देश्य हुनेछ।

सबैलाई थाहा छ—सूचना, सञ्चार र प्रविधिले विश्वलाई साँघुरो बनाइदिएको छ। यस्तो परिवेशमा जनतासामू सही सूचना र विचार पुर्‍याउनु झन् चुनौतीपूर्ण बनेको छ। तर, हामी यो चुनौतीलाई अवसरमा बदल्दै अघि बढ्नेछौँ।

संविधानले नेपालको यात्रालाई समाजवाद उन्मुख अर्थतन्त्रतर्फ निर्देशित गरेको छ। समाज आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख नभएसम्म यो लक्ष्य पूरा गर्न कठिन छ। त्यसैले, हाम्रो अर्को प्रयत्न स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन, स्थानीय उत्पादनलाई बजारसँग जोड्न, आर्थिक क्रियाकलापमा स्थानीय समुदायलाई सक्रिय बनाउन र पर्यावरण, पर्यटन तथा स्थानीय अर्थतन्त्रलाई परस्पर सम्बद्ध गर्न केन्द्रित हुनेछ। यसका लागि खोज, अनुसन्धान र अध्ययनमूलक सामग्रीहरू निरन्तर प्रकाशन गर्नेछौँ।

समाजलाई सहि बाटोमा हिँडाउन र समृद्धिको पथमा डोर्याउन सञ्चारमाध्यमहरूको भूमिका अपरिहार्य हुन्छ। यसैले हामी तपाईं सम्पूर्ण पाठकमाझ प्रतिबद्धता व्यक्त गर्दछौँ— बदलिँदो परिवेश, राजनीति, समाजशास्त्र, शिक्षा, स्वास्थ्य, प्रविधि र अर्थतन्त्रलगायतका विषयमा खोजमूलक सामग्रीहरू नियमित प्रकाशन गर्नेछौँ।

त्यसैगरी, हामी नागरिकको आवाजलाई सशक्त बनाउन, उपेक्षित र सीमान्तकृत समुदायको आवाजलाई मूलधारमा ल्याउन र न्यायपूर्ण समाज निर्माणमा राज्यलाई निरन्तर खबरदारी गर्नेछौँ। हामी तपाईं सबैसँग सहकार्य गर्दै अघि बढ्ने दृढ सङ्कल्प व्यक्त गर्दछौँ।

– लाङटाङ पोष्ट डटकम टिम

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको