गाजामा रहेका इजरायली बन्दीहरूको तस्बिर सार्वजनिक

गाजा– हमासले आफूले नियन्त्रणमा राखेका ४८ जना इजरायली बन्दीहरूको तस्बिर सार्वजनिक गरेको छ। ‘बिदाइ तस्बिर’ शीर्षकमा सार्वजनिक गरिएको उक्त फोटोमा जीवित र मृत्यु भएका दुवैलाई देखाइएको छ।

हमासले यो कदम इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्झौतामा अस्वीकार गरेको निर्णय र सेनाप्रमुख एयाल जामिरको नेतृत्वमा गाजा सहरमाथि बढाइएको हवाई तथा स्थल आक्रमणसँग जोडेर प्रस्तुत गरेको बताइएको छ। अलजजिराका अनुसार सार्वजनिक तस्बिरमा नेपालका विपिन जोशी पनि देखिएका छन्।

इजरायली अधिकारीहरूले अझै करिब २० जना बन्दी जीवित रहेको विश्वास व्यक्त गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संख्या २० भन्दा कम हुन सक्ने बताएका छन्। नेतन्याहू र ट्रम्प दुवैले जीवित वा मृत सबैलाई फर्काउने र हमासलाई पराजित गर्ने प्रतिबद्धता जनाएका छन्।

आक्रमण तीव्र बनेसँगै बन्दीहरूको जीवन जोखिममा रहेको चेतावनी हमासले दिएको छ। कतिपय बन्दीहरू इजरायली बमबारीकै कारण मारिएको दाबी समेत गरेको छ।

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार, २०२३ अक्टोबरदेखि सुरु भएको युद्धमा हालसम्म ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १ लाख ६६ हजारभन्दा बढी घाइते भएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको