काठमाडौं-कोदारी र स्याफ्रुबेंसी-रसुवागढी सडक मर्मतमा सहयोग गर्न चीनलाई उर्जामन्त्रीको आग्रह

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसँग नेपालस्थित चिनियाँ राजदूत छन सोङले बुधबार सिंहदरबारमा भेटवार्ता गरेका छन्।

भेटका क्रममा राजदूत सोङले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। दुवैबीच नेपाल–चीन सडक तथा विद्युत् प्रसारण लाइनको कनेक्टिभिटी, चिनियाँ ठेकेदार कम्पनीहरूले लिएका आयोजना, ऊर्जा क्षेत्रमा सहकार्य, लगानी र सहायता परियोजनाको प्रगति लगायत विषयमा चर्चा भएको थियो।

मन्त्री घिसिङले काठमाडौं–कोदारी (अरनिको) र स्याफ्रुबेंसी–रसुवागढी सडकलाई दुवै देशलाई जोड्ने महत्वपूर्ण मार्गका रूपमा उल्लेख गर्दै भौगोलिक जोखिम र पहिरोका कारण सडक सञ्चालन कठिन भएको बताए। उनले यी मार्गलाई दिगो बनाउन आधुनिक चिनियाँ प्रविधि प्रयोग गरी मर्मत र सुधारका लागि सहयोग मागे।

त्यस्तै, उनले चक्रपथ विस्तार अन्तर्गत कलंकी–बसुन्धरा खण्डको निर्माण कार्य छिट्टै सुरु गर्न, अरुण करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूसँगै विद्युत् बजारलाई प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन अगाडि बढाउन आग्रह गरे।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको