बलराम घिमिरे
रसुवा — दशैं–तिहार जस्ता ठूला चाडपर्वमा लामो बिदा हुने भएकाले धेरैले समयको सदुपयोग गर्दै आन्तरिक भ्रमण गर्ने गरेका छन्। राजधानी नजिकैको छोटो तथा लोकप्रिय गन्तव्यका रूपमा रसुवामा अवस्थित लाङटाङ र गोसाइकुण्ड पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकबीच विशेष आकर्षणका केन्द्र बनेका छन्।
लाङटाङ
काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा पर्ने लाङटाङ पर्यटकहरूको पहिलो रोजाइ हो। यहाँबाट गणेश र लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रको जैविक विविधता, तामाङ कला–संस्कृति लगायत विविध अनुभव लिन सकिन्छ।
काठमाडौंबाट करिब १३० किलोमिटरको दूरी पार गर्दै गाडीमा स्याफ्रुबेँसी पुगिन्छ। त्यहाँ पर्याप्त होटल र लज उपलब्ध छन्। स्याफ्रुबेँसीबाट करिब दुई दिनको पैदल यात्रापछि क्याङजिन पुग्न सकिन्छ। बाटोमा डोमेन, पहिरो, बम्बु, रिमिचे, लामा होटल, घोडातबेला, थाङस्याब, गुम्बाडाँडा हुँदै लाङटाङ पुगिन्छ।
लाङटाङ पदमार्गमा यात्रा गर्ने पर्यटकले १० देखि १२ हजार रुपैयाँ खर्चमा सहज यात्रा गर्न सक्छन्। क्याङजिनमा पुग्दा पुरानो क्याङजिन गुम्बा, लाङटाङ ग्लेसियर र वरपरका एक दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ। त्यहाँबाट क्याङजिन री, चेरकोरीलगायत थुप्रै पिक चढ्न सकिन्छ। भूकम्पपछि लाङटाङ क्षेत्र पुनःनिर्माण भई सुरक्षित र आकर्षक बनेको छ।
गोसाइकुण्ड
धार्मिक तथा प्राकृतिक दुवै दृष्टिले चर्चित गोसाइकुण्ड पनि छोटो र सजिलो पदमार्गमै पर्छ। समुद्री सतहबाट ४,३८० मिटर उचाइमा रहेको यो ताल लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ। हिन्दु तथा बौद्ध दुवै धर्मावलम्बीका लागि पवित्र मानिने गोसाइकुण्ड वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण रहन्छ।
काठमाडौं–धुन्चे हुँदै जाने पदमार्ग सबैभन्दा प्रचलित हो। करिब ६ घण्टाको बसयात्रा गरेर धुन्चे पुगिन्छ। त्यहाँबाट पैदल यात्रा सुरु गरी चन्दनवारी वा लौरीविनामा बास बस्न सकिन्छ। तेस्रो दिनमै सजिलै गोसाइकुण्ड पुगिन्छ।
गोसाइकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड लगायतका अन्य तालहरू पनि छन्। चैत्र–बैशाखतिर यहाँ विभिन्न प्रजातिका लालिगुराँस फुल्दा पूरा क्षेत्र नै आकर्षक देखिन्छ। यात्रा अवधिभर एक व्यक्तिलाई ८–१० हजार रुपैयाँ खर्च पर्छ।
यात्रामा अमरसिंह थापासँग सम्बन्धित ऐतिहासिक स्थल, चोलाङपाटी नजिकै देखिने दुर्लभ रेडपाण्डा, लालीगुराँस, कस्तुरीमृग तथा अन्य जीवजन्तु पनि पर्यटकको मुख्य आकर्षण बन्ने गरेका छन्। फर्कँदा धुन्चे र वरपरबाट कालो मुसुरो, गतलाङको सिमी, लालीगुराँसको जुस, तामाङ टोपी, पटुका, झोला आदि स्मरणीय कोशेलीको रूपमा लैजान सकिन्छ।
