रसुवा— गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड अन्तर्गत पर्ने नौविसे सडक खण्ड गत असार २४ गते आएको बाढीले बगाएको महिनौँ बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन ।
गत असार २४ गते तथा त्यस पछि पटक–पटक आएको बाढीले बेत्रावती–मैलुङ सडक खण्ड अन्तर्गत रसुवाको भूभागमा पर्ने नौविसे पेट्रोल पम्प आसपासको सडक पूर्ण रूपमा बगाएको थियो । बाढीका कारण सडकसँगै पेट्रोल पम्प र स्थानीय बासिन्दाका घरहरू समेत उच्च जोखिममा परेका छन् ।
सडक पुनर्निर्माणमा सम्बन्धित आयोजनाले चासो नदेखाएको भन्दै कटानको जोखिममा परेका स्थानीयवासी आक्रोशित बनेका छन् । केही महिनापछि पुनः वर्षायाम सुरु हुने भए पनि बाढीले बगाएको सडक निर्माणतर्फ कुनै ठोस पहल नदेखिएको स्थानीयहरूको गुनासो छ ।
स्थानीय राजु घिमिरेले भने, “अब चाँडै वर्षा सुरु हुन्छ, तर बाढीले बगाएको सडक महिनौँ बित्दा पनि पुनर्निर्माणको कुनै सुरसार छैन । वर्षा लागेपछि हामी जोखिममा परेका स्थानीय कहाँ गएर बस्ने”।
सडक पूर्ण रूपमा क्षतिग्रस्त भए पनि हाल पेट्रोल पम्प हुँदै अस्थायी रूपमा सवारी साधन सञ्चालन भइरहेको छ । स्थानीयका अनुसार यदि उक्त स्थानमा पेट्रोल पम्प नहुने हो भने यस सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध हुने अवस्था आउने थियो ।
यसैबीच, स्थानीयवासीहरूले त्रिशूली–३ बी आयोजना तथा गल्छी–मैलुङ–स्याफ्रुबेसी सडक आयोजना समक्ष अन्तिम अनुरोध गरेका छन् । त्रिशूली–३ बी आयोजनाले राखेको मकिङका कारण खोलाको धार परिवर्तन भई जोखिम बढेकाले उक्त मकिङ तत्काल हटाउन माग गरिएको छ ।
त्यसैगरी त्रिशूली नदीमा आएको बाढीले कटान गरेको सडकलाई स्थायी तथा दिगो तटबन्ध निर्माण गरी संरक्षण गर्न, मानव बस्ती, सयौँ रोपनी खेतीयोग्य जमिन र बेत्रावती आयल स्टोरलाई सम्भावित जोखिमबाट जोगाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीयहरूको माग छ ।
स्थानीयवासीहरूले सरोकारवाला निकायबाट आवश्यक पहल नगरिएमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
