रसुवा— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अवधिभर निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता रसुवा जिल्लाका उम्मेदवार तथा राजनीतिक दलहरूले जनाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला प्रशासन कार्यालय रसुवामा बुधबार आयोजना गरेको सर्वदलीय बैठकमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा दलहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । सर्वदलीय बैठकमा उम्मेदवार तथा दलहरूको तर्फबाट आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए ।
बैठकमा निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पदमा रहेका व्यक्ति, संघ–संस्था, पत्रकार तथा सञ्चार माध्यमहरूले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता सम्बन्धी विषयमा छलफल गर्दै आवश्यक जानकारी गराइएको थियो । आचारसंहिता उल्लङ्घन भएको खण्डमा प्रमाणसहित उजुरी परे कारबाही गरिने जिल्ला आचारसंहिता अनुगमन समितिले स्पष्ट पारेको छ । उजुरी दिन निर्वाचन आयोगले तोकेको ढाँचाअनुसार प्रक्रिया अपनाउन समितिले आग्रह गरेको छ ।
उम्मेदवार तथा दलहरूले आचारसंहिता प्रभावकारी रूपमा पालना भए–नभएको विषयमा कडा अनुगमन गर्न प्रशासन, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई आग्रह गरेका छन् । आचारसंहिता सम्बन्धी जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले यसको पूर्ण पालना गर्न सबै उम्मेदवार तथा दलहरूलाई आग्रह गरे ।
बैठकमा घरदैलो कार्यक्रम, आमसभा, चुनाव प्रचारप्रसार तथा र्याली सञ्चालन गर्दा पूर्वनिर्धारित कार्यतालिका बनाएर गर्नुपर्ने, आमसभा तथा कार्यक्रमको विवरण माघ मसान्तभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुपर्ने, उम्मेदवारका सम्पर्क व्यक्ति तोक्नुपर्ने लगायतका विषयमा पनि छलफल भएको थियो ।
निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पारिने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । निर्वाचनको क्रममा अनावश्यक हुलहुज्जत वा गलत गतिविधिमा संलग्न जो–कोहीलाई पनि कडा कारबाही गरिने उनले चेतावनी दिए ।
