रसुवा— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार प्रेम तामाङले आफ्नो विरुद्ध उठाइएका सबै प्रश्नहरूको उत्तर जनताको घरदैलोमै पुगेर दिने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत जनतासमक्ष धारणा सार्वजनिक गर्दै तामाङले पर्दा पछाडि र सार्वजनिक रूपमा आफ्नाबारे उठेका सबै प्रश्नहरूको जवाफ आफूसँग रहेको उल्लेख गरेका छन् । “ती सबै प्रश्नहरूको उत्तर म तपाईंहरूकै घरदैलोमा आएर दिनेछु,” उनले लेखेका छन् ।
तामाङले आफू रसुवाकै काख–पोल्टामा हुर्किएको व्यक्ति भएको उल्लेख गर्दै जनताको साथ कहिल्यै नछोडेको दाबी गरेका छन् । “म तपाईंहरूको काख–पोल्टामा हुर्किएको मान्छे हुँ । आज पनि त्यो न्यानो काख छोडेर कहीँ गएको छैन, न त जानेछु नै,” उनले भनेका छन् ।
चुनाव जितेको र हारेको दुवै अनुभव आफूमा रहेको उल्लेख गर्दै तामाङले जित्दा नमतिने र हार्दा नआत्तिने स्वभाव रहेको बताएका छन् । “तपाईंहरूले जिताउँदा म कहिल्यै मातिनँ, हार्दा कहिल्यै आत्तिनँ । सधैँ तपाईंहरुकै साथमा थिएँ, छु र रहनेछु,” उनले उल्लेख गरेका छन् ।
उनका अनुसार यो निर्वाचन केवल एक जना सांसद चयनका लागि मात्र नभई रसुवालीको शिर झुकाउने विकृत राजनीतिक संस्कारको अन्त्य गर्दै सभ्य, सुसंस्कृत र जनमुखी राजनीतिक संस्कार स्थापना गर्ने उद्देश्यका साथ लडिँदैछ ।
सबै वर्गका नागरिकले राजनीति गर्न र निर्वाचनमा सहभागी हुन पाउने वातावरण निर्माण गर्नु साझा लक्ष्य रहेको उल्लेख गर्दै तामाङले यस अभियानलाई सफल बनाउन सबै रसुवाबासीलाई एकजुट हुन आह्वान गरेका छन् ।
