प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन : संविधान संशोधन संसद्को जिम्मा

काठमाडौं – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै संविधान संशोधन र शासन प्रणाली परिवर्तन गर्ने अधिकार अन्तरिम सरकारलाई नभएको स्पष्ट पारेकी छन्। उनले यस्तो निर्णय आगामी निर्वाचनपछि निर्वाचित संसद्को जिम्मेवारी हुने बताइन्।

प्रधानमन्त्री कार्कीले सम्बोधनमार्फत सबै दल, सरोकारवाला र विशेषतः जेनजी पुस्तालाई आगामी निर्वाचनमा सक्रिय सहभागिताका लागि आग्रह गरिन्। उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन चुनाव नै एकमात्र वैधानिक बाटो भएको उल्लेख गरिन्।

उनले हालैको जेनजी आन्दोलनका क्रममा देखिएका घटनाबारे समेत धारणा राख्दै, व्यक्तिका निजी आवासमा भएको आगजनी र तोडफोडका क्रममा फेला परेको अस्वाभाविक नगदबारे छानबिन सुरु भइसकेको जानकारी दिइन्। उनका अनुसार सरकारका सम्बन्धित निकायहरूले यस विषयमा आवश्यक कानुनी कारबाही अघि बढाइरहेका छन्।

हालै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता दीपक खड्काको घरमा आगजनी हुँदा नगद फेला परेको भिडियोहरू सार्वजनिक भएका थिए, जसलाई लिएर कारबाही अघि बढाइएको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको