काठमाडौं – आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले मतदाता नामावली संकलन प्रक्रिया सुरु गरेको छ।
आयोगका अनुसार १६ वर्ष पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा गई नाम दर्ता गराउन सक्नेछन्। सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली संकलन खुला रहनेछ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले ताजा जनादेशका लागि फागुन २१ मा निर्वाचन गर्ने घोषणा गरिसकेको छ। सो मिति घोषणा भएसँगै नामावली संकलन कार्य स्वतः स्थगित हुने कानुनी प्रावधान भए पनि, आन्दोलनमा सक्रिय धेरै युवाको नाम मतदाता सूचीमा नपरेको कारण सरकारले बुधबार अध्यादेश जारी गरी नयाँ अवसर उपलब्ध गराएको हो।
आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुनी योग्यता पुगेका नागरिकहरूले नाम दर्ता गर्न सक्ने व्यवस्थासँगै, विवाह वा बसाइँसराइका कारण स्थान परिवर्तन गर्नुपर्ने, वा विवरणमा त्रुटि परे सच्याउन सक्ने सुविधा पनि गरिएको जानकारी दिएको छ।
