दिपक घिमिरे
महोदय,
साँचै!
प्रशासनको खुट्टा हुँदैन नि,
तर ऊ जहाँ पनि पुग्छ—
नवजात शिशुको जन्मदर्ताबाट
बृद्धको मृत्यु दर्तासम्म,
कृषकको हलोको अनौदेखि
वैज्ञानिकको प्रयोगशालासम्म।
थाहा छ! उसलाई कहिल्यै हिँडेको देखिन्न,
तर ऊ सर्वत्र उपस्थित हुन्छ।
उसको हस्ताक्षरमा
राष्ट्रको कानुन बस्छ,
उसको छापमा
हजारौँ जनताको सपना अडिन्छ।
हामिलाई खुट्टा नभएको प्रशासनले बाँधिराख्छ—
कहिले कागजका धागोहरूमा,
कहिले नियमका अनुच्छेदहरूमा,
कहिले फाइलका थुप्राहरूमा,
अनि कहिले छापका कालो वृत्तहरूमा।
खै, कसरी भनौं?
उसले हिँड्दैन,
बोल्दैन पनि।
हामी नै उसको आवाज बोकेर हिँड्छौँ।
उसले खुट्टा नचाल्दा पनि
हाम्रो गति रोकिन्छ।
उसको मौनतामा पनि
हाम्रो दिनचर्या टाँसिन्छ।
प्रशासनलाई बेलाबेला खुट्टा नलागे पनि
हामीले आधार दिन्छौँ—
कर तिरेर,
आज्ञा मानेर,
आशा बोकेर।
त्यही आधार बिना
उसको अस्तित्व पनि त शून्य हुन्छ।
अनि !
हामी कहिलेकाहीँ भुल्छौँ—
प्रशासन हाम्रो सेवक हो,
मालिक होइन।
हाम्रो जीवन सजिलो बनाउन बनेको हो,
गाह्रो बनाउन होइन।
हाम्रो भविष्य उज्यालो बनाउन बनेको हो,
अँध्यारोमा कैद गर्न होइन।
त्यसैले !
जब हामी सचेत हुन्छौँ,
जब हामी एउटै स्वरमा बोल्छौँ,
जब हामी आफ्नो बाटो आफैं कोर्छौँ,
त्यो खुट्टा नभएको प्रशासन
सही बाटोमा हिँड्न बाध्य हुन्छ।
किनभने खुट्टा नभएको शरीर
उठ्न सक्दैन।
जनताको हातले थामिएन भने
खुट्टा नभएको शक्ति
टिक्न सक्दैन।
जनताको विश्वासले समेटिएन भने
ऊ पनि छरपस्ट हुन्छ।
अनि !
छरपस्ट भएका चिजहरूलाई हावाले उडाउने डर हुन्छ।
(दिपक घिमिरे निजामति सेवामा छन्)
