काठमाडौं – लगातार वर्षापछि खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान स्थगित भएका छन्। विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार बिहानदेखिको अविरल वर्षाका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार गन्तव्यका उडानहरू रोकिएका हुन्।
“मौसमी अवस्थाको निरन्तर पुनरावलोकन भइरहेको छ। अन्तर्राष्ट्रिय उडान भने यथावत् छन् तर आन्तरिक उडान अविरल वर्षाका कारण तत्कालका लागि रोकिएका छन्,” पाण्डेले बताए।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। विभागले राति वर्षा अझ तीव्र हुने चेतावनीसमेत जारी गरेको छ।
