रसुवा– नेपाल राष्ट्र बैंकले व्यक्तिगत सेयर कर्जामा तोकिएको २५ करोड रुपैयाँको अधिकतम सीमा हटाएको छ । राष्ट्र बैंकले बुधबारदेखि लागू हुने गरी यो व्यवस्था खारेज गरेको हो ।
लामो समयदेखि लगानीकर्ताहरुले कर्जामा लगाइएको सीमा हटाउन माग राख्दै आएका थिए । यसअघि कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको अधिकतम सीमा २५ करोड रुपैयाँ तोकिएको थियो ।
सरकारले गठन गरेको पुँजीबजार सुधारका लागि सुझाव समितिले सो सीमा हटाउन सिफारिस गरेको थियो । अर्थ मन्त्रालयले बुधबार नै सो सिफारिस कार्यान्वयन गर्न निर्देशन गरेपछि राष्ट्र बैंकले परिपत्र जारी गरेको छ । शेयर बजारमा ठूला खेलाडीले ऋणको सीमा तोकिएको कारण बजार बुलमा जान नसकेको बताउँदै आएका थिए । अव भने यो व्यवस्था हटैसँग सेयर बजारमा सकारात्मक प्रभाव देखिने लगानीकर्ताहरुले बताएका छन् ।
