रसुवा— नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ८४औं पटक रक्तदान गरेका छन्।
रसुवाको कालिका गाउँपालिका–२, कालिकास्थानमा शनिबार आयोजित रक्तदान कार्यक्रममा उनले आफ्नो १ सय ८४औं पटक रक्तदान गरेका हुन् । उनी नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता समेत हुन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी ब्याच २०५६ समूहले संयुक्त रूपमा उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका गाउँपालिकाले कर्माचार्यलाई सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए । सम्मान ग्रहण गर्दै कर्माचार्यले भने, “यस सम्मानले रक्तदान अभियानमा अझ बढी सक्रिय भएर काम गर्न प्रेरणा र जिम्मेवारी थपिएको महसुस गरेको छु ।”
