रसुवा — उचित क्षतिपूर्तिको माग गर्दै कालिका गाउँपालिका–३, बेतीनी, थाक्ले र धारापानीका स्थानीयवासीले आइतबार बिहानदेखि पासाङ ल्हामु सडक खण्ड अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्।
गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरे नजिकै शनिबार दिउँसो करेन्ट लागी कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भएपछि आफन्त तथा स्थानीयवासीले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन थालेका हुन्।
उनीहरूले रसुवागढी जलविद्युत आयोजना र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै शीघ्र माग समाधानका लागि आग्रह गरेका छन्। शनिबार दिउँसो भएको घटनापछि सम्बन्धित निकायले कुनै चासो नदेखाएकामा आफन्तहरू आक्रोशित बनेका छन्। माग सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी स्थानीयवासीले दिएका छन्।
