रसुवा— नेपाल टेलिभिजनका रसुवा संवाददाता सुशिल कोईराला ‘स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानित भएका छन्।
पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको एघारौँ वार्षिक साधारणसभाको अवसरमा कोईरालालाई रु. ११,१११ नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो।
जिल्लाको बहुआयामिक सम्भावना पहिचान गर्दै विविध विषयलाई सार्वजनिक सेवा प्रशारण नेपाल टेलिभिजनमार्फत प्रसारण गरेर योगदान पु¥याएको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालले जनाएको छ । करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय कोईराला पछिल्ला १९ वर्षदेखि सार्वजनिक सेवा प्रशारण नेपाल टेलिभिजनसँग आवद्ध रहेका छन्।
पर्यटन विकास तथा सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो लाङटाङ कालिका गाउँपालिका–३, स्याउबारीबाट सञ्चालनमा रहेको छ। रेडियोले पर्यटन, कृषि, स्वास्थ्यलगायतका सामुदायिक विषयमा केन्द्रित नियमित कार्यक्रमहरू प्रसारण गर्दै आएको छ। रसुवाका पहिलो मन्त्री बनेका स्वर्गीय रामकृष्ण आचार्यको स्मृतिमा यो पत्रकारिता पुरस्कार स्थापना गरिएको हो।
