रसुवा — कालिका गाउँपालिका–२, स्याउबारीमा रहेको रेडियो लाङटाङको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
पर्यटन विकास तथा सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो लाङटाङ ९०.३ मेगाहर्जको ११औँ वार्षिक साधारणसभा शनिबार कालिकास्थानमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
नगद ११ हजार १ सय ११ रुपैयाँसहितको “स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार” नेपाल टेलिभिजनका संवाददाता सुशील कोईरालालाई प्रदान गरिएको थियो । त्यस्तै, “योगमाया अधिकारी ईश्वरी स्मृति महिला स्वयंसेविका पुरस्कार” बाट स्वयंसेविका कुलकुमारी न्यौपाने नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानित भइन्। नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक श्यामबहादुर पुडासैनीलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारी, रसुवा अस्पतालका मेसु डा. अच्युत पौडेल, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, रास्वपाका रसुवा अध्यक्ष मानबहादुर तामाङ, र पत्रकार महासंघका अध्यक्ष केशव पौडेल लगायतका वक्ताहरूले सामुदायिक रेडियोले समुन्नत, सुसंस्कृत र सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए। कार्यक्रममा सचेतनामूलक लोकदोहोरी प्रस्तुति पनि गरिएको थियो।
