रसुवा— स्रोत साधन र विज्ञ जनशक्तिको अभाव हुँदाहुँदै पनि रसुवा अस्पतालले ३७ वर्षीया गर्भवती महिलाको जटिल प्रकारको सफल शल्यक्रिया गरेको छ।
आईतबार दिउँसो पेट दुख्ने समस्या लिएर अस्पताल आएकी गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेकी ३७ वर्षीया महिलाको परीक्षण गर्दा पाठेघर बाहिर भ्रूण रहेको र त्यो फूटेर पेटमा रक्तश्राव भई रगत जम्मा भएको अवस्था पाइएको अस्पतालका चिकित्सक डा. सुनिलकुमार दासले जानकारी दिए ।
डा. दासका अनुसार ती महिलाको गर्भ तीनदेखि चार महिनाको थियो र अत्यधिक रक्तश्रावका कारण अन्यत्र रिफर गर्दा ज्यान जोखिममा पर्न सक्ने अवस्था देखिएकाले अस्पतालमै जोखिम मानेर शल्यक्रिया गरिएको थियो ।
त्यस्ता जटिल अवस्थामा सामान्यतया भेन्टिलेटर, पर्याप्त रगत आपूर्ति र विशेषज्ञ चिकित्सकको आवश्यकता पर्छ। तर, रसुवा अस्पतालमा ती सुविधा नहुँदाहुँदै पनि चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो ।
डा. सुनिलकुमार दासको नेतृत्वमा डा. उत्सव तिमिल्सिना, डा. निरञ्जन अधिकारी, नर्स अनिता स्याङ्तान र कविता देवकोटाको टोलीले करिब दुई घण्टासम्म शल्यक्रिया सञ्चालन गरेको थियो । अस्पतालका अनुसार बिरामीको अवस्था अहिले सामान्य रहेको छ।
