नुवाकोट— सीमित स्रोत र साधनबीच पनि नयाँ आविष्कार गर्न सकिन्छ भन्ने सन्देश नुवाकोटका तीन युवाले दिएका छन् ।
बेलकोटगढी नगरपालिका–१० का लक्ष्मण पौडेल, विपिन पौडेल र सन्देश पौडेलले खेर गएका फलाम, बिग्रिएका ट्र्याक्टरका पाङ्ग्रा, ठेलागाडाका भाग र खेत जोत्न प्रयोग हुने ट्र्याक्टरको इन्जिन प्रयोग गरेर ‘गो–कार्ट’ नामक सानो र गतिशील सवारी साधन निर्माण गरेका हुन् ।
‘सीमित स्रोत हुँदाहुँदै पनि इच्छाशक्ति र प्रयास भए नयाँ कुरा गर्न सकिन्छ भन्ने देखाउन हाम्रो प्रयास सार्थक भएको छ,’ निर्माणकर्ता लक्ष्मण पौडेलले बताए । उनका अनुसार यो सवारी पूर्ण रूपमा स्वदेशी सामग्रीबाट बनेको हो र हाल परीक्षण चरणमा छ ।
गो–कार्ट बनाउनका लागि युवाहरूले बजारबाट नयाँ पाटपुर्जा खरिद गरेका छैनन् । गाउँमै भेटिएका फलाम, ठेलागाडा र ट्र्याक्टरका भाग प्रयोग गरेर तयार पारिएको हो । बिग्रिएको ट्याक्टरको इन्जिन छिमेकीबाट ल्याइयो, फालिएका फलाम र पाङ्ग्राहरू वेल्डिङ गरेर जोडिए, अनि गाउँमै सानो ग्यारेजजस्तो ठाउँमा ‘गो–कार्ट’ तयार पारियो ।
‘हामीले बजारबाट नयाँ केही खरिद गरेका छैनौं,’ विपिन पौडेलले भने, ‘गाउँमा खेर गएका फलाम, बिग्रिएका गाडीका पाटपुर्जा र ट्याक्टरका इन्जिन नै प्रयोग गरेका हौं ।’ उनीहरूले बनाएको गाडीमा क्लच, एक्सिलेटर र डिसब्रेक सबै जडान गरिएको छ ।
हाल ‘गो–कार्ट’ परीक्षणको क्रममा रहेको छ । यसलाई अझ सुरक्षित र आकर्षक बनाउन सुधार गर्ने तयारी भइरहेको युवाहरूले बताएका छन् । ‘हामीले बनाएको गाडी हेरेर धेरैले विश्वास र प्रशंसा गरेका छन्, यसले हामीलाई थप हौसला दिएको छ,’ उनीहरूले भने ।
स्थानीय बासिन्दाहरूले यी तीन युवाको प्रयासलाई गाउँमै जन्मिएको प्रविधिक नवप्रवर्तनका रूपमा व्याख्या गरेका छन् । युवाहरूले आगामी दिनमा ‘गो–कार्ट’को प्रविधिक पक्ष सुधार गर्दै स्वदेशमै आवश्यक पाटपुर्जा उत्पादन र आधुनिक डिजाइनमा रूपान्तरण गर्ने योजना बनाएका छन् ।
