रसुवामा पहिलोपटक विद्यालयस्तरीय देउसी–भैलो प्रतियोगिता सम्पन्न

रसुवा— उत्तरगया गाउँपालिका–५, बोगटीटारस्थित निलकण्ठ माध्यमिक विद्यालयले कक्षा २ देखि १२ सम्मका विद्यार्थीहरूलाई सहभागी गराएर पहिलोपटक विद्यालयस्तरीय देउसी–भैलो प्रतियोगिता सम्पन्न गरेको छ।

नेपाली परम्परा, संस्कार र संस्कृति जोगाउने उद्देश्यले आयोजित प्रतियोगितामा विद्यार्थीहरूले परम्परागत शैलीमा देउसी–भैलो प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरूले सेलरोटी, नाङ्गलो र दियो बालेर दान–दक्षिणा दिने परम्परा प्रदर्शन गर्दै सांस्कृतिक रचनात्मकता देखाएका थिए।

विद्यालयका प्रधानाध्यापक माधव लामिछानेका अनुसार, विद्यार्थीको पहलमा गरिएको यस कार्यक्रमले संस्कृति संरक्षण र सम्मानको सन्देश प्रसारित गरेको छ।

प्रतियोगितामा कक्षा ११ प्रथम, कक्षा ८ दोस्रो, र कक्षा ७ तेस्रो भएका थिए। उनीहरूले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँ नगद पुरस्कार तथा दान–दक्षिणा प्राप्त गरेका थिए।

विद्यालयका अनुसार, २००७ सालमा स्थापना भएदेखि यो पहिलोपटक आयोजना गरिएको कक्षागत देउसी–भैलो प्रतियोगिता हो, जसले विद्यार्थीहरूमा सांस्कृतिक चेतना, सहभागिता र सिर्जनशीलता बढाउने विश्वास लिइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको