स्रष्टा ठाकुर शर्मा भण्डारीको ‘नवनी’ लोकार्पण

काठमाडौं— साहित्यकार तथा समालोचक ठाकुर शर्मा भण्डारीको नवीनतम कविताकृति ‘नवनी’ एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ ।

काठमाडौँ धुम्बाराही स्थित भण्डारी निवासमा आयोजित कार्यक्रममा साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा उपस्थित सम्पूर्ण स्रष्टाहरूले एकसाथ कृतिको लोकार्पण गरेका थिए । कार्यक्रम प्राज्ञ प्राध्यापक दिनेशराज पन्तको सभापतित्वमा पारिवारिक तथा साहित्यिक वातावरणमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा भण्डारी परिवारका सदस्यसहित ५० जनाभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले कृतिकार भण्डारीलाई “नेपाली साहित्यका सरल, शालीन र साधनाशील स्रष्टा” का रूपमा चित्रण गर्दै उहाँको योगदानको प्रशंसा गरे । सभापति प्रा. पन्तले भण्डारीको सक्रियता र शान्त स्वभावबाट आफू प्रभावित भएको बताए । त्यसैगरी योगगुरु तथा प्राकृतिक चिकित्सक डा. मानसाग्निले भण्डारीको व्यवहार र सिर्जनशीलताको प्रशंसा गर्दै उहाँका कविताहरूले सकारात्मक ऊर्जाको सन्देश दिने उल्लेख गरे ।

तेस्तै नेपाल सरकारका पूर्व सचिव तथा समालोचक गोपी मैनालीले लोकार्पित कृति ‘नवनी’ मा छन्दोबद्ध र छन्दमुक्त दुवै प्रकारका कविताहरू समावेश रहेको उल्लेख गर्दै ती कविताहरूमा समाज, राष्ट्र, राष्ट्रप्रेम, अखण्डता, मानवता, विकृति–विसङ्गति र युवाशक्तिजस्ता विषयहरूलाई गहिराइका साथ अभिव्यक्त गरिएको बताए ।

झण्डै तीन दर्जन कृतिका स्रष्टा भण्डारीले आफ्नै निवासमा विशिष्ट स्रष्टा तथा साधकहरूलाई आमन्त्रण गरेर साहित्यिक पारिवारिक भेटघाटको वातावरणमा लोकार्पण आयोजना गरिएको बताए ।
सो अवसरमा दायित्व वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष प्रा. डा. भागवत ढकाल, कवि महेश प्रसाई, समालोचक युवराज मैनाली, साहित्यकार सूब सेन, र गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ लगायतले कृतिकार भण्डारीको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गर्दै उहाँको आगामी सिर्जनात्मक यात्राका लागि शुभकामना व्यक्त गरे ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको