चीन प्रवेश पास वितरणमा फर्जी कार्य भइरहेको भन्दै रसुवाका युवाहरूले बुझाए ज्ञापनपत्र

रसुवा— चीन आवागमन÷प्रस्थान अनुमतिपत्र (प्रवेश पास) वितरणमा फर्जी कार्य भइरहेको भन्दै रसुवाका युवाहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

उक्त प्रवेश पास चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई अध्यागमन कार्यालय टिमुरेले प्रदान गर्दै आएको छ । तर, पास वितरणमा अनियमितता र असुविधा बढेपछि युवाहरू एकजुट भई प्रमुख जिल्ला अधिकारीलाई औपचारिक रूपमा ज्ञापनपत्र बुझाएको स्थानीय युवा प्रकाश तामाङले जानकारी दिए ।

ज्ञापनपत्रमा रसुवाबासीका लागि मात्र वितरण गरिनुपर्ने चीन प्रवेश पास बाहिरी जिल्लाका व्यक्तिहरूलाई आर्थिक प्रलोभनमा परेर फर्जी रूपमा वितरण गरिएको उल्लेख छ । युवाहरूले यस्तो कार्य कानूनी प्रावधान विपरीत भएको बताउँदै फर्जी पास निर्माण र वितरणमा संलग्न व्यक्तिहरूको तत्काल छानबिन गरी कानूनी कारबाही गर्न माग गरेका छन् ।

त्यसैगरी, विगतमा वितरण गरिएका सबै पुराना पास खारेज गरी प्रविधिमैत्री ई–पास प्रणाली’ लागू गर्न, रसुवाबासीका लागि मात्र पास जारी गर्न र बाहिरी जिल्लाका व्यक्तिहरूलाई वितरण गरिएका पासहरू तत्काल रद्द गर्न पनि माग गरिएको छ ।

साथै, वर्षा र पहिरोका कारण रसुवागढी नाकातर्फ जाने सडक अवरुद्ध भएकाले तत्काल मर्मत र स्तरउन्नति गर्नुपर्ने आवश्यकता पनि ज्ञापनपत्रमार्फत उठाइएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको