बेत्रावतीका स्थानीयद्वारा मुआब्जा माग, न्याय नपाए आन्दोलनको चेतावनी

रसुवा— उत्तरगया गाउँपालिका–५, बेत्रावतीका स्थानीयवासीहरूले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाबाट मुआब्जा नपाएको गुनासो गर्दै तत्काल वितरण गर्न माग गरेका छन्।

स्थानीयका अनुसार मुआब्जा वितरणको माग राख्दा पनि सरोकारवाला निकायले कुनै सुनुवाइ गरेको छैन। सडक आयोजनाले लामो समयदेखि मुआब्जा वितरणमा ढिलाइ गरिरहेको भन्दै प्रभावित बासिन्दा आक्रोशित भएका छन्।

स्थानीय गणेश श्रेष्ठले भने, “अदालतमा मुद्दा परेर फैसला भइसकेको छ तर आयोजना पक्षले विभिन्न बहाना देखाउँदै मुआब्जा वितरण रोकेको छ। सडक अधुरो हुँदा हामी दैनिक धुलो र असुविधाबीच बाँच्न बाध्य भएका छौं।”

उनीहरूले तत्काल प्रभावित जनतालाई तोकिएको मुआब्जा वितरण गर्न, कच्ची सडकका कारण हुने धुलो नियन्त्रण गर्न र बेत्रावती बजार क्षेत्रका जनताको माग सम्बोधन गर्न आग्रह गरेका छन्।

त्यसैगरी स्थानीय शशी डङ्गोलले भने, “पटक–पटक सम्बन्धित निकायमा पुग्दा पनि हाम्रो कुरा सुन्ने कोही छैन। अब न्याय नपाए आन्दोलनबाहेक विकल्प छैन।”

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको