रसुवा— जिल्लाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थल गोसाईंकुण्डमा सम्भावित दुर्घटना रोकथामका लागि नेपाली सेनाको श्रीनाथ गणले लाइफब्वाइ ट्युब जडान गरेको छ ।
कुण्डमा स्नान गर्ने तीर्थयात्री तथा पर्यटकको सुरक्षालाई प्राथमिकता दिँदै तीन स्थानमा डोरीसहितका आपतकालीन उद्धार ट्युब स्थापना गरिएको सेनाले जनाएको छ ।
गोसाईंकुण्डमा हरेक वर्ष गंगादसहरा र साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) मा ठूलो मेला लाग्ने गर्दछ । भगवान शिवको आराधना गरी कुण्डमा स्नान गर्दा पाप नाश, पितृ उद्धार र मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यो स्थानमा वर्षभर नै स्वदेशी तथा विदेशी भक्तजनको उल्लेख्य आगमन हुन्छ ।
कुण्डमा स्नानका क्रममा डुब्ने जोखिम बढ्ने भएकाले नेपाली सेनाले स्थानीय सरोकारवालासँग समन्वय गरेर सुरक्षात्मक सामग्री जडान गरेको हो । स्थापित लाइफब्वाइ ट्युबले गोसाईंकुण्ड आउने तीर्थयात्री र पर्यटकको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
