रसुवा — जिल्ला समन्वय समिति रसुवाको दशौँ जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
आर्थिक वर्ष ०८१÷०८२ को वार्षिक समीक्षा सहित दशौँ जिल्ला सभा सदरमुकाम धुन्चेमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले नेपालमा दिगो विकासका लागि सबैभन्दा पहिला कृषि र त्यसपछि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । बागमती प्रदेश सरकारले एक घर–एक रोजगार दिन सक्ने समेत बताए । उनले कार्यक्रममा जेनजी भाइ–बैनीहरू सहभागि हुने कि नहुने भन्ने विषयमा पनि प्रश्न उठाएका थिए ।
त्यस्तै, प्रदेश सभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, नेपाली कांग्रेस पार्टी सभापति पेम्बा छिरिङ तामाङ, नेकपा एमालेका बागमती प्रदेश सदस्य कन्र्याल लामा, नेकपा पार्टी प्रतिनिधि पुष्पराज न्यौपाने लगायतका वक्ताहरूले जिल्लाको विकास, योजना कार्यान्वयन, समन्वयका चुनौती तथा आगामी वर्षका प्राथमिकता सम्बन्धी विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।
जिल्ला समन्वय समिति रसुवाले समन्वय समिति, गाउँपालिकाका कर्मचारी तथा जलविद्युत आयोजनालाई पनि सम्मान गरिएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक कुमार घिमिरेले बताए ।
