रसुवा— कालिका गाउँपालिका–५ स्थित नलिकण्ठ महादेव मन्दिर परिसरको थुम्किमा बत्ती बाल्ने भक्तजनहरूको भिड लागेको छ । सतबीज छर्ने अघिल्लो रात मन्दिर परिसरमा भक्तजनहरूले बत्ती बाल्दै पूजा–अर्चना गरेका छन्।
बालाचतुर्दशी पर्वको अवसरमा मृत्यु भएका आफ्ना पितृको नाममा रातभरि बत्ती बालेर जाग्राम बस्ने धार्मिक परम्परा अनुसार भक्तजनहरू मन्दिर परिसरमा भेला भएका हुन् । परलोकमा गएका बाबु–आमा तथा आफन्तका नाममा बत्ती बाल्दा पितृको आत्मालाई शान्ति मिल्ने र उत्तम लोक प्राप्त हुने जनविश्वास रहि आएको छ।
यस वर्ष पनि मंगलबार साँझदेखि नै भक्तजनहरू पितृको नाममा बत्ती बालेर जाग्राम बसेका छन् । बालाचतुर्दशीको अघिल्लो रात, मार्ग कृष्ण त्रयोदशीको दिन शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बस्ने र चतुर्दशीको दिन बिहान शतबीज छर्ने गरिन्छ।
बालाचतुर्दशी पर्व विशेष गरी पितृ उद्धारका लागि, उनीहरूको सम्झनामा शतबीज छर्ने परम्परासँग जोडिन्छ । शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुन र मकै समावेश हुने गरेका छन्। शतबीजले धान, जौ, गहुँ, चना, तिल, कागुन र मकैलाई मिलाएर बनाइएको सप्तधान्य समूहलाई पनि जनाउँछ।
