पितृको नाममा राम मन्दिर परिसरमा मंगलबार बत्ती बाल्दै भक्तजनहरू

रसुवा— उत्तरगया गाउँपालिका–५ बेत्रावतीस्थित त्रिशूली र फलाखु खोलाको संगमस्थलमा रहेको राम मन्दिर परिसरमा मंगलबार बत्ती बाल्ने भक्तजनहरूको भिड लागेको छ।

सतबीज छर्ने अघिल्लो रात राम मन्दिर परिसरमा भक्तजनहरूले बत्ती बाल्दै पूजा–अर्चना गरेका छन्। बालाचतुर्दशी पर्वको अवसरमा मृत्यु भएका आफ्ना पितृको नाममा रातभरि बत्ती बालेर जाग्राम बस्ने धार्मिक परम्परा अनुसार भक्तजनहरू मन्दिर परिसरमा भेला भएका हुन्। परलोकमा गएका बाबु–आमा तथा आफन्तजनका नाममा बत्ती बाल्दा पितृको आत्मालाई शान्ति मिल्ने र उत्तम लोक प्राप्त हुने जनविश्वास रहिआएको छ।

यस वर्ष पनि मंगलबार साँझदेखि नै भक्तजनहरू पितृको नाममा बत्ती बालेर जाग्राम बसेका छन्। बालाचतुर्दशीको अघिल्लो रात, मार्ग कृष्ण त्रयोदशीको दिन शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बस्ने र चतुर्दशीको दिन बिहान शतबीज छर्ने गरिन्छ।

बालाचतुर्दशी पर्वलाई विशेष गरी पितृ उद्धारका लागि, उनीहरूको सम्झनामा शतबीज छर्ने परम्परा रहेको छ। शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुन र मकै समावेश गरिने पाइन्छ। शतबीजले कागुन, तिल, जौ, धान, मकै, गहुँ र चनाको समुह अर्थात् सप्तधान्यलाई पनि जनाउँछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको