रसुवा— अस्ट्रेलियामा हुने ‘कोसी १०० फर अल्ट्रा ट्रेल’मा नेपाली धावक दावा तामाङले सहभागिता जनाउने भएका छन्
रसुवाको कालिका गाउँपालिका–१ निवासी अल्ट्रा तथा ट्रेल रनर तामाङले अस्ट्रेलियामा यही मंसिर १२ गते (नोभेम्बर २८) आयोजना हुने ‘कोसी १०० फर अल्ट्रा ट्रेल कसियोस्को बाई युटिएमबी’मा सहभागिता जनाउन लागेका हुन् । नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरए)ले बुधबार पत्रकार सम्मेलन गरेर तामाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो।
कराते खेलाडी तथा प्रशिक्षकका रूपमा परिचित तामाङ अल्ट्रा र ट्रेल रनिङमा सक्रिय रहेका छन् । उनले ट्रेल रनका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइसकेका छन् । गत अप्रिलमा आयोजित ‘वल्र्ड एक्स्ट्रीम फिस्टेल १०० अल्ट्रा’मा तामाङले रजत पदक जितेका थिए। नेपाल कराते महासंघ (एनकेए) र एनएआरएले तामाङलाई सफलताको शुभकामना सहित बिदाइ गरेको छ।
