चौथो नेपाल संवाद सम्मेलन सम्पन्न

काठमाडौँ— चौथो नेपाल संवाद सम्मेलन दुई दिन लगाएर काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलन यहि मंसिर ४ र ५ गते दुई दिनसम्म चलेको थियो ।

उद्घाटन सत्रमा प्रमुख अतिथि तथा संयुक्त राष्ट्रसंघीय नेपाल आवासीय प्रतिनिधि हाना सिनगर हम्दीले नेपालजस्तो संवेदनशील राजनीतिक तथा सामाजिक परिवेशमा संवादको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन्। “संवाद भनेको कसैको जित वा हार होइन, साझा समझदारीतर्फ अघि बढ्ने प्रक्रिया हो,” उनले भनिन्।

सम्मेलनका प्रमुख वक्ता पूर्वराजदूत तथा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्का पूर्व सभापति डा. शम्भुराम सिंखडा रहेका थिए। त्यस्तै जर्मन–नेपाल सहयोग नियोग, नागरिक शान्ति सेवा कार्यक्रमकी अधिकृत इभा गादेररले पनि मन्तव्य राखेकी थिइन्।

दुईदिने सम्मेलनमा अन्तर्राष्ट्रिय संवाद विज्ञहरूको प्रस्तुति तथा राष्ट्रिय संवाद अभ्यासमा संलग्न संस्थाहरूबीच अनुभव आदान–प्रदान गरिएको आयोजकले जनाएको छ। संवादलाई नेपाली सामाजिक संस्कारका रूपमा विकास गर्दै स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय तहसम्मको अभ्यास सुदृढ बनाउने उद्देश्यसहित नौ बुँदे घोषणा पत्र जारी गरिएको नेपाल संवाद अभियान सञ्जालले जनाएको छ।

कार्यक्रममा देशभरका विभिन्न क्षेत्रका करिब चार दर्जनभन्दा बढी नागरिक समाज संस्थाहरूको स्वस्फूर्त सहभागिता रहेको नेपाल संवाद अभियानका संयोजक शरद न्यौपानेले जानकारी दिए।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको