पशुपालनका आधारभूत व्यवस्थापकीय पक्षहरु

                                                                               

                                                                लेखक: बासुदेव नाथ

  • परिचय: 

पशुपालन फार्म व्यवस्थापन पशु उत्पादन प्रक्रियालाई प्रभावकारी, दक्ष र नाफामूलक बनाउने विज्ञान र कला हो। फार्म व्यवसायीले उपलब्ध स्रोतहरू (जमिन, श्रम, पूँजी, प्रविधि) को उचित उपयोग गरी उत्पादन वृद्धि गर्ने, लागत न्यूनीकरण गर्ने र बजार मागअनुसार उत्पादन गर्ने विधि समावेश गर्दछ। पशुपालनका आधारभूत व्यवस्थापकीय पक्षहरुको प्रभावकारी कार्यान्वयनले पशुपालन व्यवसायलाई वैज्ञानिक आधारमा सञ्चालन गरी जोखिम न्यूनिकरण गर्ने र दिगो विकास सुनिश्चित गर्ने लक्ष्य राख्दछ।वैज्ञानिक ढंगले व्यवसाय सञ्चालन गर्ने, व्यवसायमा उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, लागत नियन्त्रण गर्ने, बजारको माग अनुसार आपूर्ति गर्ने, व्यवसायमा दिगोपना कायम राख्दै जोखिम व्यवस्थापन गर्नका लागि पशुपालनका आधारभूत व्यवस्थापकीय पक्षहरुको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।

फार्म व्यवस्थापकीय कार्यले साना तथा ठूला फार्महरूलाई प्रतिस्पर्धी बनाउँछ। नेपाल करिब ५७.३ प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न हुनुको साथै कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २५.१६ प्रतिशत रहेको कृषि प्रधान देशमा यसले खाद्यान्न सुरक्षा, रोजगारी सिर्जना र ग्रामीण विकासमा योगदान रहेको छ। उदाहरण स्वरूप, राम्रो व्यवस्थापनले २०-३०% सम्म उत्पादन बढाउन सक्नुका साथै किसानको आय दोब्बर पार्न सक्ने औजारका रुपमा पशुपालनका आधारभूत व्यवस्थापकीय पक्षहरु रहेका छन्

 () पशुपालनमा आधारभूत व्यवस्थापकीय पक्षहरु:

२.१ उचित नश्ल छनोट

बिउ राम्रो त, खेती राम्रो वा कुलका छोराछोरी, मुलको पानी भन्ने उखानलाई अवलम्बन गर्दै पशुको नश्ल छनोट गर्नु पर्दछ । पशुपालनको सफलता उपयुक्त नश्ल छनोटमा पनि निर्भर हुन्छ। हामीले पाल्ने पशु दूध उत्पादन वा मासु उत्पादन मध्ये कुन उद्देश्यले पालन गर्ने हो सोही अनुसारको नश्ल छनौट गर्नु पर्दछ । नेपालमा गाईका लागि होल्स्टिन, जर्सी; भैंसीका लागि मुर्रा; भेडा बाख्रा स्थानीय जात नै उपयुक्त रहेका छन् । स्थानीय र विदेशी नश्लको वर्णसंकर (crossbreeding) मार्फत स्थानीय नश्लको उत्पादन तथा उत्पादकत्व बढाउन सकिन्छ।

२.२ पोषण तथा आहारा व्यवस्थापन

पशुको स्वास्थ्य, वृद्धि, प्रजनन र उत्पादनका लागि सन्तुलित आहारा आवश्यक हुन्छ। पशुको उमेर, नश्ल, र उत्पादन उद्देश्य अनुसार प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, खनिज र पानीको सन्तुलित आहारा दिनु पर्दछ।पशु आहारामा हरियो घाँस, साइलेज, हे, दाना, र खनिज मिश्रण समावेश गर्नु पर्दछ।पशुलाई नियमित समयमा दैनिक २ देखि ३ पटक आहारा दिने र २४ सैं घण्टा स्वचछ पिउने पानीको सुनिश्चित गर्नु पर्दछ। दूध दिने गाईलाई प्रतिदिन १-२ किलो दाना, २०-२५ किलो हरियो घाँस र ५ देखि ७ किलो हे वा पराल चाहिन्छ। वजन अनुसारको भोजन र उत्पादन अनुसारको पोषण उपलब्ध गराउनु पर्दछ । घाँसमा आधारित पशुपालन गर्न सकेमा उत्पादन लागत कम गर्न सकिन्छ।सामान्यतया सन्तुलित दाना बनाउदा अन्न, पिना, चोकर/ढुटो  ३३/३३ प्रतिशत, मिनरल मिश्रण २ प्रतिशत र आयोडिनयुक्त नुन १ प्रतिशत मिलाएर बनाउन सकिन्छ ।पशुलाई आहारा दिदा कुल आहाराको दुई तिहाई घाँसपातबाट र एक तिहाई दानाबाट दिनु पर्दछ । घाँसपात दिदा एक तिहाई सुख्खा र दुई तिहाई हरियो घाँस दिनु पर्दछ । त्यसैगरी हरियो घाँस दिदा एक तिहाई कोशे र दुई तिहाई अकोशे मिलाएर दिनु पर्दछ ।गाई भैँसीलाई शारिरीक तौलको २.५ देखि ३ प्रतिशत सुख्खा पदार्थ र भेडा बाख्रालाई शारिरीक तौलको ४ प्रतिशत सुख्खा पदार्थ उपलब्ध हुने गरी आहारा दिनु पर्दछ ।

२.३ गोठ व्यवस्थापन

गोठ चिसोमा न्यानो र  गर्मीमा सितल हुने गरी बनाउनु पर्दछ ।गोठ बनाउदा पहाडमा दक्षिण र तराईमा उत्तर दिशातर्फ मोहडा पर्ने गरी बनाउनु पर्दछ । राम्रो गोठले पशुलाई तनावमुक्त राख्छ, जसले उत्पादन र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ। गोठ हावादार, उज्यालो र सुख्खा हुनु पशुको आकार अनुसार पर्याप्त ठाउँ चाहिन्छ । एउटा वयस्क गाई भैँसीलाई ४-६ वर्गमिटर ठाउँ चाहिन्छ।गोठको भुइँ पक्की तर नचिप्लिने गरी बनाउनु पर्दछ । गर्मीमा गोठलाई चिसो राख्न पंखा वा छहारीको व्यवस्था गर्ने, जाडोमा न्यानो राख्न पराल वा बोराको प्रयोग गर्ने। गोठको स्थान बस्तीबाट अलि टाढा, पानी जम्ने, बिहानको पारिलो घाम लाग्ने ठाउँ उपयुक्त हुन्छ । चिसो र हावा नचल्ने ठाउँमा रोगको जोखिम बढ्छ भन्ने कुरा गोठ बनाउदा ध्यान दिनु पर्दछ।

२.४  प्रजनन व्यवस्थापन

कोरेली बाच्छी १.५ देखि २ वर्षको उमेरमा र कोरेली पाडी ३ देखि ४ वर्षको उमेरमा पहिलो पटक व्याउनु पर्दछ । एक पटक व्याइ सकेका गाईभैँसी ३ देखि ५ महिना भित्र पुन: बाली लाग्नु पर्दछ । दुईवेतको अन्तर १२ देखि १५ महिनाभन्दा बढी हुनु हुदैन । प्रजनन उमेर पुगेका गाईभैसीले भाले खोजेको १२ देखि १८ घण्टाभित्र प्रजनन योग्य भाले लगाइ प्राकृतिक गर्भाधान गराउने वा कृत्रिम गर्भाधान (AI)  गर्नु पर्दछ । प्रजनन गराउँदा हाडनातामा प्रजनन गराउनु हुदैन । प्रजनन योग्य माउ र भालेको छनौटमा ध्यान दिन सकेमा गुणस्तरीय पशु उत्पादन गर्न सकिन्छ। गर्भावस्थाको समयमा विशेष हेरचाह र पोषण दिने। गाईको गर्भावस्था २८५ दिन, भैँसीको ३१० दिन भेडाबाख्राको १५० दिन बंगुरको ११४ दिन हुन्छ । गर्भावस्थाको अन्तिम ३ महिनामा अतिरिक्त पोषण चाहिन्छ। प्रजनन रेकर्ड राख्ने र गर्भ जाँचका लागि नियमित रुपमा पशु चिकित्सक वा दक्ष प्राविधिकको सहयोग लिनु पर्दछ।

२.५  स्वास्थ्य व्यवस्थापन

स्वस्थ्य पशुले मात्र स्वस्थ्य र गुणस्तरीय उत्पादन गर्न सक्दछ । पशुहरुलाई रोगबाट बचाउन र उत्पादन क्षमता कायम राख्न स्वास्थ्य व्यवस्थापन जरुरी छ।पशुलाई संक्रामक रोगहरु लाग्न नदिनका लागि नियमित खोप तालिका अनुसार खोप लगाउनु पर्दछ । गाई भैँसीलाई खोरेत, लम्पी स्किन, भ्यागुते, चरचरे, भेडा बाख्रालाई खोरेत, पिपिआर, इन्टेरोटक्सिमिया, बंगुरलाई खोरेत, स्वाइन फिवर लगायतका संक्रामक रोग विरुद्ध खोप लगाउनु पर्दछ । त्यसै गरी आन्तरिक परिजिवी (नाम्ले, गोलोजुका, फित्तेजुका)  नियन्त्रणका लागि  प्रत्येक ४ देखि ६ महिनामा डिवर्मिङ (deworming) र बाह्य परजीवी (जस्तै, जुम्रा, उपिया, किर्ना) को उपचार सावधानी साथ गर्नु पर्दछ । रोगका लक्षण (जस्तै, ज्वरो, खान छोड्ने) देखिएमा तुरुन्त पशु चिकित्सक वा दक्ष प्राविधिकको सल्लाह लिनु पर्दछ । पशु चिकित्सक वा प्राविधिकसँग नियमित सम्पर्क राख्ने र रोग निदानका लागि स्थानीय पशु सेवा शाखामा सम्पर्क राखी सहयोग लिनु पर्दछ।पशुमा लाग्ने करिव ६० प्रतिशत भन्दाबढी  रोगहरु जुनोटिक रोग हुने भएकाले एक स्वास्थ्य रणनीति पद्धतिबारे सदैव चनाखो हुन पर्दछ ।

२.६  स्वच्छता र सरसफाइ व्यवस्थापन

स्वच्छताले रोगको जोखिम कम गर्दै उत्पादनको गुणस्तर बढाउँछ।गोठलाई नियमित सफा गर्ने, गोबर र फोहोर हटाउने।खानेपानी र आहारा भाँडा सफा राख्ने।पशुको शारीरिक सफाइ (जस्तै, गाईको थुन सफा गर्ने) मा ध्यान दिने।जस्तै: दूध दुहुने बेला गाईको थुनलाई तातोपानी र पोटासपानीले सफा गर्नुपर्छ। फोहोर व्यवस्थापनका लागि बायोग्यास वा कम्पोस्ट बनाउने प्रणाली अपनाउनु उपयुक्त हुन्छ।

२.७ बजार व्यवस्थापन

उत्पादनको बिक्रीबाट नाफा सुनिश्चित गर्न बजार व्यवस्थापन जरुरी छ।स्थानीय बजार, सहकारी, वा डेरी उद्योगसँग सम्पर्क राख्ने।उत्पादनको गुणस्तर कायम राख्ने (जस्तै, दूधमा फ्याट र एसएनएफको मात्रा)।बजार माग र मूल्यको आधारमा उत्पादन योजना बनाउनु पर्दछ।जस्तै: दूधलाई स्थानीय डेरीमा बिक्री गर्न सकिन्छ, मासुका लागि बजारको माग अनुसार पाडा वा बाख्रा वा बंगुर पाल्ने। सहकारी मार्फत बिक्री गर्दा मध्यस्थकर्ताको लागत कम गर्न सकिन्छ।

२.८ फार्म अभिलेख व्यवस्थापन

अभिलेख फार्मको ऐना हो । अभिलेखले व्यवसायको प्रगति, समस्या र समाधानको विश्लेषण गर्न सहयोग गर्दछ। पशु स्वास्थ्य, खोप, प्रजनन, र उत्पादन (दूध, मासु) को अभिलेख राख्नु पर्दछ ।आर्थिक अभिलेख (लागत, आम्दानी, नाफा-नोक्सान) व्यवस्थित गर्ने।जस्तै: गाई भैँसीको दूध उत्पादन दैनिक अभिलेख राखेर औसत उत्पादन र स्वास्थ्य स्थिति विश्लेषण गर्न सकिन्छ। डिजिटल एप वा रजिष्टर प्रयोग गरेर रेकर्ड राख्न सकिन्छ।

२.९  वातावरणीय व्यवस्थापन

फोहोर व्यवस्थापनले वातावरण संरक्षण गर्नुका अतिरिक्त आम्दानीको स्रोत बन्दछ। गोबर र अन्य फोहोरबाट कम्पोस्ट मल वा बायोग्यास बनाउन सकिन्छ। पानीको दुरुपयोग रोक्ने र फोहोर पानीको उचित निकास गरी वातावरण सुधार गर्न सकिन्छ ।जस्तै: बायोग्यास प्लान्टले इन्धन र मल दुवै प्रदान गर्दछ।

२.१० आर्थिक व्यवस्थापन

व्यवसायको दीर्घकालीन सफलताका लागि आर्थिक योजना महत्त्वपूर्ण हुन्छ।लागत (दाना, गोठ, स्वास्थ्य) र आम्दानीको हिसाब राख्नु पर्दछ । ऋण वा लगानीको उचित उपयोग गर्ने र अनुदान वा सहुलियतका अवसर खोज्नु पर्दछ।सानो स्तरबाट सुरु गरेर क्रमशः व्यवसाय विस्तार गर्नु उपयुक्त हुन्छ। स्थानीय सहकारी वा बैंकबाट ऋण लिएर व्यवसाय सुरु गर्न सकिन्छ।

२.११  श्रमशक्ति व्यवस्थापन

पशुपालनमा श्रमशक्ति व्यवस्थापन एक महत्त्वपूर्ण व्यवस्थापकीय पक्ष हो । कुशल र दक्ष श्रमशक्तिले मात्र व्यवसायको उत्पादकत्व, दक्षता र दीर्घकालीन सफलता सुनिश्चित गर्छ।पशुपालनको स्केल, पशुको संख्या, र कार्यको प्रकृति अनुसार आवश्यक श्रमशक्तिको पहिचान गर्नु जरुरी छ। फार्मको आकार र कार्यको जटिलता (जस्तै, दूध उत्पादन, मासु उत्पादन, वा प्रजनन व्यवस्थापन) अनुसार श्रमशक्तिको संख्या र भूमिका निर्धारण गर्नु पर्दछ । एउटा सानो गाई फार्म (५-१० गाई) को लागि १-२ जना ।श्रमिक पर्याप्त हुन सक्छ, तर ठूलो डेरी फार्म (५०+ गाई) मा ५-१० जना श्रमिक र विशेषज्ञ (पशु चिकित्सक, प्रजनन विशेषज्ञ) चाहिन्छ।  फार्मको बजेट र कार्यभारलाई ध्यानमा राखेर श्रमशक्ति योजना बनाउनु पर्दछ।तालिम प्राप्त श्रमशक्तिलाई काममा लगाउदा उनीहरुले प्रवाह गर्ने सेवा प्रभावकरी तथा गुणस्तरीय हुने र व्यवसायलाई सधैं प्रगति पथमा डोर्‍याउछ । फार्ममा काम गर्ने श्रमशक्तिलाई उच्च मनोवलका साथ उत्प्रेरित गर्नमा विशेष ध्यान दिनु पर्छ ।

२.१२ हेरचाह व्यवस्थापन

फार्ममा रहेका व्याउने माउको हेरचाह, व्याएका माउको  हेरचाह, भरखर जन्मेका पाडापाडी, बाच्छाबाच्छी, पाठापाठीको हेरचाह, कोरेली पाडी बाच्छीको हेरचाह, थारा पशुको हेरचाह, प्रजननको लागि भाले पशुको हेरचाह लगायतका हेरचाह व्यवस्थापनमा ध्यान पुर्‍याउनु पर्दछ ।

२.१३ विविध व्यवस्थापन

माथि उल्लेखित व्यवस्थापनका अतिरिक्त  खुर काट्ने, सिङ् काट्ने, खसी पार्ने, अनुत्पादक पशुपन्छीलाई वथानबाट हटाउने (Culling), राम्रो नश्ललाई छनौट गर्ने, जैविक सुरक्षा व्यवस्थापन, पशुकल्याण प्रवद्धन, पशुपालन असल अभ्यास अवलम्बन गर्ने लगायतका विविध व्यवस्थापनहरु पशुपालन फार्ममा आवश्यक हुन्छन् भन्नेकुरा सदैव ध्यान दिनु पर्दछ ।

 

() निष्कर्ष:

पशुपालन एक विज्ञान हो । विज्ञानलाई वैज्ञानिक ढंगले सञ्चालन गर्नु पर्दछ । विज्ञानलाई वैज्ञानिक ढंगले सञ्चालन गर्न सकेमा मात्र आशा गरिएको प्रतिफल प्राप्त गर्न सकिन्छ । पशुपालन व्यवसायलाई दिगो, उत्पादनशील र लाभदायक बनाउन पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक आधारभूत व्यवस्थापकीय पक्षहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्दछ । विश्वभरीमा पशुपालनको क्षेत्रमा व्यवस्थापकीय पक्षहरुको योगदान मध्ये पशु स्वास्थ्यको योगदान १० प्रतिशत, पशु प्रजननको योगदान ३० प्रतिशत र पशु आहारा तथा व्यवस्थापनको योगदान ६० प्रतिशत रहेको विभिन्न प्रतिवेदनहरुले जनाएको छ । नेपालको सन्दर्भमा स्थानीय स्रोत, बजार र जलवायु अनुकूल व्यवस्थापन अपनाउनु पनि त्यत्तिकै महत्त्वपूर्ण देखिन्छ। पशुपालन व्यवसायलाई उत्पादनशील, दिगो र नाफामूलक बनाउँन पशुपालनका आधारभूत व्यवस्थापकीय पक्षहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनु अपरिहार्य छ ।

सन्दर्भ ग्रन्थ

  • आर्थिक सर्वेक्षण २०८१/८२ (२०८२), अर्थ मन्त्रालय, काठमाडौं
  • कलौनी, डा. पदमराज (२०७६), आधुनिक गाईभैँसीपालन र उपचार, विद्यार्थी पुस्तक भण्डार, काठमाडौं
  • कलौनी, डा. पदमराज (२०७५), आधुनिक पशुपालन र उपचार, विद्यार्थी पुस्तक भण्डार, काठमाडौं
  • कृषि तथा पशुपन्छी डायरी २०८२, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, ललितपुर
  • नाथ, बासुदेव (२०७८), आधुनिक पशुपालन प्रविधि संगालो, पोष्ट मिडिया प्रा.लि., काठमाडौं
  • नाथ, बासुदेव (२०७९), पशु पोषण तथा आहारा व्यवस्थापन आधारभूत ज्ञान, बुद्ध हिल मिडिया प्रा.लि., काठमाडौं
  • पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका (२०८०), राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय ललितपुर
  • पौडेल, रुद्र प्रसाद (२०७५), व्यवसायिक गाईभैँसीपालन प्रविधि, केन्द्रीय गाईभैँसी प्रवर्द्धन कार्यालय., ललितपुर
  • लाइभष्टक (२०८०), नेपाल एनिमल साइन्स एशोसिएसन, काठमाडौं
  • समृद्ध कृषि डेरी विशेषाङ्क (२०७१) डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल, ललितपुर
  • ज्ञवाली, डा. रेशमराज (२०७५), असल दुधालु पशुपालन अभ्यास, केन्द्रीय गाईभैँसी प्रवर्द्धन कार्यालय, ललितपुर
  • Banerjee, G.C. (2011), A TEXT BOOK OF ANIMAL HUSBANDRY, Oxford and IBH Publishing Co. Pvt. Ltd. New Delhi
  • Satry, N. S. R. / Thomas, C. K. (1976), Farm Animal Management, VIKAS PUBLISHING HOUSE PVT. LTD ,UP, INDIA

(लेखक श्री बासुदेव नाथ पशु सेवा तालिम केन्द्र ललितपुरमा अधिकृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको