गोसाइँकुण्ड गाउँपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवाबाट पाँच सयभन्दा बढी गर्भवती लाभान्वित

रसुवा— गोसाइँकुण्ड गाउँपालिकाले गर्भवती महिलाहरूका लागि सञ्चालनमा ल्याएको निःशुल्क घुम्ती ग्रामीण भिडियो एक्स–रे सेवाबाट हालसम्म पाँच सयभन्दा बढी गर्भवती महिलाले लाभ उठाएका छन् ।

 

गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ देखि गर्भवती महिलालाई लक्षित गरी यो सेवा प्रारम्भ गरेको हो । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २२ जना गर्भवतीले सेवा प्राप्त गरिसकेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिमल घिमिरेले बताए । उनले भने सेवा सुरु भएदेखि हालसम्म पाँच सयभन्दा बढी गर्भवतीले लाभ लिएका छन् ।

यो सेवा पालिकाको ६ वटै वडाबाट नियमित रूपमा सञ्चालन हुंदै आएको छ । सेवा सुरु भएपछि दुर्गम बस्तीका गर्भवती महिलाले घर नजिकैको स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य परीक्षण गराउने सुविधा पाएका छन् ।

 

यस सेवाले गर्भवती महिलाहरूलाई जिल्ला अस्पताल वा टाढाका स्वास्थ्य संस्थासम्म धाउनुपर्ने बाध्यता हटाएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । उनले भने, “भौगोलिक जटिलता र यातायातको असुविधा रहेको दुर्गम गाउँका गर्भवती महिलाहरूका लागि यो सेवा अत्यन्तै प्रभावकारी बनेको छ ।”

गाउँ–गाउँका स्वास्थ्य चौकीमै पुगेर सेवा उपलब्ध गराइएकाले गर्भावस्थामा हुन सक्ने जटिलता प्रारम्भिक चरणमै पहिचान भई उपचार तथा परामर्श लिन सहज भएको गाउँपालिकाले जनाएको छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको