रसुवा— उत्तरगया गाउँपालिकाद्वारा आयोजित छैटौँ पालिका–स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार बोगटिटारमा सम्पन्न भएको छ ।
यस वर्षको राष्ट्रपति रनिङ शिल्डको उपाधि निलकण्ठ माध्यमिक विद्यालय बोगटिटारले हात पारेको छ। विद्यालयले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १४ स्वर्ण, ६ रजत र ३ कास्यसहित कुल २३ पदक जित्दै उपाधि हात पारेको हो । डाँडागाउँ माध्यमिक विद्यालय डाँडागाउँले ७ स्वर्ण, ८ रजत र ६ कास्यसहित २१ पदक बटुलेर दोस्रो स्थान हासिल गर्यो । त्यस्तै, भूमेदेवी माध्यमिक विद्यालय ठुलोगाउँले ५ स्वर्ण, १० रजत र २ कास्यसहित १७ पदक ल्याउँदै तेस्रो भयो।
नवविजयी महेन्द्र माध्यमिक विद्यालय भलायडाँडाले २ रजत र ८ कास्यसहित १० पदक प्राप्त गरेको छ। त्यसैगरी पञ्चलिङ्गे आवि ले ४ कास्य र ढुशङ्गे आविले २ कास्य पदक मात्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्तरगया गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूको सहभागिता रहेको गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले बताइन्।
समापन समारोहमा बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, बागमती प्रदेश सभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति उपप्रमुख विजय लामा, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वुसाङ्बो घले, प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, कालिका उपाध्यक्ष मिरा तामाङ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए ।
