बलराम घिमिरे
रसुवा— रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने पवित्र धार्मिक तीर्थस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा शुक्रबार पुसे औँसीका अवसरमा श्राद्ध गर्ने श्रद्धालुहरूको भीड लागेको छ ।
त्रिशूली र फलाखु खोलाको संगमस्थल उत्तरगयामा पुसे औँसीका दिन प्रत्येक वर्ष हजारौँ श्रद्धालुहरूले दिवंगत आफ्ना पितृको नाममा श्राद्ध, दान तथा तर्पण गर्ने परम्परा छ । यस वर्ष पनि टाढा–टाढाबाट आएका भक्तजनहरूले नदी किनारमा बाबु–आमा तथा आफन्तको स्मरणमा श्राद्ध गरिरहेका छन् । पितृ श्राद्ध गर्ने श्रद्धालुहरूको संख्या वर्षेनी बढ्दै गएको छ ।
भारतको गया पुग्न नसक्ने श्रद्धालुहरूले यही स्थानमा आएर श्राद्ध गर्ने गरेका छन् । उत्तरगयाधाममा पितृको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृले मोक्ष प्राप्त गरी स्वर्गलोक प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास रहेको स्थानीय पुरोहित बासु भण्डारीले बताए । यहाँ हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले श्राद्ध, दान र तर्पण गर्ने गर्दछन् ।
स्कन्दपुराणको हिमवत्खण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशूली नदी र देवी गंगा नदी बग्ने भएकाले यस पवित्र स्थललाई ‘बेत्रगंगा’ भनिएको धार्मिक मान्यता छ । किंवदन्तीअनुसार सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको कालकूट विषले संसार नष्ट गर्न लागेपछि भगवान् शिवले उक्त विष पान गरी यसको डाह शान्त पार्न यही स्थानमा बेतको लौरोले खोस्री बेत्रगंगा नामक तप्त नदी उत्पन्न गराएको र त्यसको जलले शीतलता प्राप्त गरी उत्तरापन्थ गोसाइँकुण्डतर्फ प्रस्थान गरेको विश्वास गरिन्छ।
उत्तरगयाधाममा भारतका विभिन्न प्रान्तहरूबाट साथै काठमाडौं, धादिङ, काभ्रे, चितवन, कास्की, नवलपरासी, मकवानपुर, गोरखा, पर्सा लगायत देशका विभिन्न जिल्लाबाट प्रत्येक वर्ष हजारौँ श्रद्धालुहरू श्राद्धका लागि आउने गरेका छन्।
